मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पत्याउनु हुन्छ ? राजधानीमा पाइन्छ एकमुठा सागभन्दा सस्तोमा कपडा !

शनिबार, ११ असार २०७३, ११ : ३२
शनिबार, ११ असार २०७३

काठमाडौँ, असार ११– तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ ।

अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।

सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी रु १० देखि एक हजारसम्म बेच्ने गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहेका गुरुङले धन कमाएर वा गाडी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताए । तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बाँडौ खुसी बढाउँ भन्ने नाराका साथ सामाखुसी टाउनप्लानिङमा स्थापना भएको उक्त प्रतिष्ठानले भूकम्पमा निधन भएका परिवारको छोराछोरीलाई समेत शिक्षादीक्षा दिँदै आएको छ ।

प्रतिष्ठानले स्वदेशमा कसरी रोजगारी स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रयोग गर्न मिल्ने सामानलाई प्रयोग गरी दुखी जनताको सेवा गर्दै आएको छ । सो प्रतिष्ठानले मर्मत गर्न मिल्ने सामानलाई मर्मत गर्ने तथा मर्मत गर्न नमिल्ने सामानलाई प्रयोग नगर्ने गरेको छ ।

घर, कार्यालयमा जुनसुकै सामान प्रयोग गर्दा किफायती उपयोग गर्नुपर्छ । प्रशोधन, पुनः प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग गर्नुपर्छ भन्ने यो संस्थाको मूलमन्त्र हो । गत वर्षमात्र उक्त प्रतिष्ठानले एक वर्षमा एक हजार ५०० केजी कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट रु एक लाख २० हजार आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताए । उनले सो पसलमा स्वयम्सेवकका रुपमा काम गरेका छन् । उनीजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रुपमा काम गरेका छन् । “दश बीस रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ भनेर किनमेल गरेर जान्छन्,” कोषाध्यक्ष गुरुङले भने।

यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताए । “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले रु १० मा जुत्ता र रु १० को पाइन्ट लैजाने गरेका छन्,” लामाले भने । कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ ।

उक्त पसलमा रु १० देखि ८० सम्मका सर्ट तथा रु ४० देखि १०० सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् ।

प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबेसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप