मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

धार्मिक क्षेत्रमा विद्युत् आयोजना नबनाउन माग, ‘स्थानीयको विरोध’ले त्रिशूली गंगा आयोजना संकटमा

शनिबार, ११ असार २०७३, २१ : ५२
शनिबार, ११ असार २०७३

नुवाकोट–निर्माणाधिन ५५ मेगावाट क्षमताको मध्यत्रिशूली गंगा आयोजना धार्मिक क्षेत्रमा निर्माण नगर्न भन्दै स्थानियले विरोध गरेपछि आयोजना संकटमा परेको छ । नुवाकोट र रसुवा जिल्लाको सिमाना पर्ने तुप्चे गाविसमा बन्ने यस आयोजनाले ऐतिहासिक तथा धार्मिक क्षेत्र उत्तरगया धामको अस्तित्व मेटिने खतरा रहेको भन्दै स्थानियले बिरोध गरेका हुन् । आयोजना प्रभावित क्षेत्रका केही स्थानियहरु सम्मिलित मध्यत्रिशूली गंगा जलविद्युत् आयोजना संघर्ष समितिले रसुवाका नेकपा एमालेका सांसद जनार्दन ढकालसहितको उपस्थितिमा आयोजना उत्तरगया क्षेत्रबाट सार्न माग गरेको हो । उनीहरुले आयोजना निर्माण गर्नुपरे आफूले भनेको डिजाइनमा गर्न पनि सुझाव दिएको छ । नुवाकोटको तुप्चे र गेर्खु तथा रसुवाको लहरेपौवा गाविसमा निर्माण गरिन लागेको माथिल्लो त्रिशूली थ्रिवि जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई सुरुङबाट तुप्चे गाविसको अक्करेबजारमा ल्याई विद्युत उत्पादन गर्ने उद्देश्य राखेको छ । तर, आयोजनाले नुवाकोटको ऐतिहाँसिक एवं धार्मिक क्षेत्र उत्तरगयाको अस्तित्व संकटमा पर्ने भन्दै आयोजनाको विद्युत गृह उत्तरगया नजिकै सार्न स्थानीय सरोकारवालाहरुले माग गरेका हुन् । उत्तरगया देशको मात्र नभई दक्षिण एशियाकै पवित्र धाम भएका कारण जलविद्युत गृह निर्माण गर्दा यसको अस्तित्व संकटमा पार्न नहुने संघर्ष समितिका अध्यक्ष इश्वरलाल श्रेष्ठले बताए । ‘धार्मिक धरोहर तथा स्थानीय सम्पदालाई असर पर्ने गरी आयोजनाको निर्माण गरिनु हुन्न’, श्रेष्ठले भने । मनकामना गाविसमा रहेको माथिल्लो त्रिशूली थ्रिवि आयोजनाको विद्युत गृहबाट निस्किएको पानीलाई ४ किलोमिटर सुरुङबाट ल्याएर तुप्चे गाविस वडा नं. २ को अम्करेमा विद्युत गृह निर्माण गरी ५५ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण हुने चरणमा छ । आयोजनाले परातात्विक सम्पदाको संरक्षणमा ध्यान नदिएको स्थानीय उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशंकर डंगोलले वताए । २०६८ मा सर्वेक्षण भएको आयोजनाले उत्तरगया धामलाई असर पु¥याउने स्थानीयवासी वताउँछन् । विद्युत गृह सञ्चालन गर्दा त्रिशूली नदीको पानीको प्रयोग गर्दा उत्तरगया क्षेत्रमा पानी कम हुने, रसुवा र नुवाकोटका केही गाविसका नागरिकको अन्तिम संस्कार गर्ने थलोसमेत त्रिशूली खोला भएकाले नदीमा पानीको वहाव निरन्तर हुनुपर्ने स्थानीयबासीहरुले बुझाइ रहेको छ । उनीहरुले पर्यटकीय, धार्मिक एवं ऐतिहाँसिक क्षेत्रलाई असर पुग्ने गरी आयोजना निर्माण अघि नपढाउन सरकारसँग पनि माग गरेका छन् । कार्यक्रममा पर्यटन व्यवसायी शिव लामिछानेले धार्मिक पर्यटनको रुपमा उत्तरगया धाम विकास भइसकेकाले अव यसलाई जसरी पनि बचाउनुपर्ने बताए । कार्यक्रममा रसुवाका समाजसेवी भवानीप्रसाद न्यौपानेले जल विद्युतको विकास अहिलेको आवश्यकता भएपनि धार्मिक क्षेत्रलाई जोगाउनु पनि उत्तिकै महतवपूर्ण रहेको बताए । कार्यक्रममा सांसद जनार्दन ढकालले विकास निर्माण अहिलेको आवश्यकता रहेको वताउंदै जलविद्युतले गर्ने विकाससंगै स्थानीय पुरातात्विक, धार्मिक तथा स्थानीय धार्मिक पहिचानको नष्ट गर्न नमिल्ने वताए । उनले जलविद्युत निर्माण पक्षलाई उत्तरगयाको संरचनामा कुनै पनि असर नहुने गरी डिजाइन गर्न निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप