मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन पसे यी तीन अधिकारकर्मी अष्ट्रेलियन दुतावास ?

आइतबार, १२ असार २०७३, १३ : ०७
आइतबार, १२ असार २०७३

काठमाडौ– नेपाली राजनीतिका केन्द्र मानिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगन यो साता ठूलो चर्चाको विषय बन्यो । प्रचण्डलाई अष्ट्रेलियामा द्वन्द्वकालिन मुद्धा ब्यूताएर एयरपोर्टबाटै फर्काउने या पक्राउ गर्ने सम्मका योजनाको विषयमा आशंका र अड्कलबाजी भयो ।

अष्ट्रेलियमा बस्ने केही नेपालीले नै द्वन्द्वकालिन मुद्धाको विषयमा उजुरी गरेकोले प्रचण्डको भ्रमण रोकिएको बताइन्छ । उजुरी परेपछि अष्ट्रेलियाले यो विषयलाई गम्भीर रुपमा लिएको र कार्वाही प्रकृया अगाडी बढाइसकिएको व्यहोराको पत्र पनि उजुरीकर्तालाई पठाएको कुरा सार्वजनिक भयो । तर यी सबै घटनाका पछाडी कस्को हात थियो भन्ने विषय रहस्यमै छ ।

रातोपाटीले यो घटनाको पर्दा पछाडीको रहस्य पत्ता लगाएको छ । अष्ट्रेलिया पसेर शरणार्थी बनेर बसेका केही नेपाली र द्वन्द्वका घटना उचालेर डलर व्यवसाय गर्ने केहि व्यक्तिहरु मिलेर यो षड्यन्त्र रचेको फेला परेको छ ।

अष्ट्रेलियामा प्रचण्ड विरुद्ध परेको उजुरीको विषयमा विभिन्न निकायमा पत्राचार हुने दिन बिहानको समयमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठक र अधिकारकर्मी गोविन्द बन्दी तथा दिनेश त्रिपाठी नेपाल स्थित अष्ट्रेलियन दुतावास पसेर छलफल गरेको तथ्य फेला परेको छ । जुन २० का दिन बिहान नेपाली समयअनुसार साढे १० बजेदेखि अष्ट्रेलियन दुतावास भित्र पसेका उनीहरु छलफल गरेर निस्किएका थिए । सोही दिन अष्ट्रेलियामा प्रचण्ड विरुद्ध परेको उजुरीका सम्बन्धमा विभिन्न निकायमा पत्राचार गरेको भन्ने व्यहोराको पत्र सार्वजनिक भएको छ । उजुरीकर्तालाई पनि अष्ट्रेलियको न्यू साउथ वेल्सका प्राईमरको कार्यालयले २० तारीखमै पत्र पठाएको छ । त्यसैले उक्त दिनको छलफको विषयलाई गम्भिर रुपमा लिईएको छ । ‘नेपाल भन्दा अष्ट्रेलियाको समय केही घण्टा ढिलो छ, त्यसैले यहाँ बिहान प्रचण्ड विरुद्ध परेको उजुरीको विषयमा के गर्ने भनेर छलफल गरी उता जानकारी दिएर सोही अनुसार कार्वाहीको तय गरीएको हुनसक्छ’ एक अधिकारकर्मीले भने । उनीहरु नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गराउने समूहका व्यक्ति हुन् ।

को हुन् उनीहरु ? सुदिप पाठक ः उनी लामो समयदेखि मानवअधिकारको क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् । राजा ज्ञानेनन्द्रको प्रत्यक्ष शासनकालमा उनलाई राष्ट्रिय मानवअधिकार आयोगको सदस्य बनाइएको थियो । २०६२÷०६३ को जनआन्दोलनमा उनले शान्तिपूर्ण आन्दोलनको विरोध गरी राजाको बचाउ गरेको भन्दै चर्को आलोचना भएको थियो । हाल उनी फेरि नेपाली काँग्रेसको सिफारीसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य छन् । उनी मानवअधिकार आयोगभित्र एनजिओहरुको वकालत गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

गोविन्द बन्दी ः बन्दी पनि अधिकारकर्मी हुन् । नेपालमा मानवअधिकारसम्बन्धि काम गर्ने अन्तराष्ट्रिय संस्था आईसिजेमा कार्यरत अधिवक्ता बन्दी द्वन्द्वकालका घटनालाई अन्तराष्ट्रियकरण गर्नुपर्छ भन्ने पक्षका व्यक्ति हुन् । विभिन्न मानवअधिकार सम्बन्धि संस्थामा काम गरीसकेका बन्दी एड्भोकेसी फोरममार्फत कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गरी कार्वाहीका लागि पहल गर्ने व्यक्ति पनि हुन् ।

दिनेश त्रीपाठी ः त्रिपाठी पहिलादेखि नै मानवअधिकारको क्षेत्रसंग सम्बन्धित भई सबैभन्दा धेरै विदेश भ्रमण गर्ने व्यक्ति हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा नवलपरासीबाट नेपाली काँग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार भएका उनी जमानत जफत हुने उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप