सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जलविद्युत् आयोजना निर्माणमा अवरोध गरे सरकार चुप लागेर नबस्ने–उपप्रधानमन्त्री रायमाझी

आइतबार, १२ असार २०७३, १९ : १२
आइतबार, १२ असार २०७३

अर्घाखाँची - उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गरे सरकार चुप लागेर नबस्ने बताएका छन् ।

सन्धिखर्कमा भारतीय दूतावासको सहयोगमा निर्माण भएको जनज्योति उमाविको नेपाल–भारतमैत्री भवनको आज उद्घाटन गर्दै उहाँले ऊर्जामा लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार र मन्त्रालय कटिबद्ध भएर अगाडि बढेको बताए ।

ऊर्जाको विकास बिना नेपालको विकास सम्भव नरहेको बताउँदै उपप्रधानमन्त्री रायमाझीले सरकारले स्वदेश तथा विदेशका लगानीकर्ता खोजेर विद्युत् उत्पादन गर्ने काम पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले सबै वर्ग, जातिलाई समेटेर बनाइएको नेपालको संविधान विश्वकै उत्कृष्ट भएकाले यसको कार्यन्वयनका लागि काँग्रेस सरकारमा आउनुको विकल्प नभएका धारणा राखे ।

नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको विकासमा भारत सरकारले सहयोग गर्दै आएको बताए । भारतीय दूतावासको रु एक करोड ५१ लाखको आर्थिक सहयोगमा उक्त विद्यालयको भवन निर्माण गरिएको हो । कार्यक्रममा भवन निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै निर्माण समितिका भेषबहादुर विसी, हुमप्रसाद वन्जाडे र चुरामणि भट्टराईलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

आजै भारतीय राजदूत रायले दूतावासको सहयोगमा अर्घा रजस्थल माविमा निर्माण भएको भवनको पनि उद्घाटन गरे । उक्त भवन रु चार करोड ९३ लाखको लागतमा निर्माण गरिएको हो ।

नेपालको शान्ति, स्थिरता र विकासप्रति भारत सधैँ सकारात्मक

यसैबीच, राजदूत रायले नेपालको शान्ति, स्थिरता र विकासप्रति भारत सधैँ सकारात्मक रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब अर्घाखाँचीले आज सन्धिखर्कमा अयोजना गरेको साक्षात्कारमा उहाँले छिट्टै हुन लागेको नेपाल–भारत उच्चस्तरीय बैठकले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । तराई आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै राजदूत रायले नेपालको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको विकासमा भारत सहकार्य गर्न तयार रहेको बताए ।

अर्को फरक प्रसङ्गमा राजदूत रायले दुई देशका राष्ट्र प्रमुखको भ्रमणका विषयमा कूटनीतिक छलफल भइरहेकाले छिट्टै नै भ्रमणको मिति तय हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप