सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अख्तियारले भन्यो, 'गोविन्द केसीको उपचार गराऊ'

आइतबार, १२ असार २०७३, १९ : २५
आइतबार, १२ असार २०७३

काठमाडौं — डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की लगायत आयुक्तहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै कारवाहीको माग गरेको केही घण्टा नबित्दै आयोगले विज्ञप्ति जारी गर्दै कडा शब्दमा भत्सर्ना गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करले विज्ञप्ति जारी गर्दै डा. केसीको मानसिक स्थिति ठीक नभएका कारण त्यस्तो अरोप लगाइएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, 'डा. गोबिन्द केसीद्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. केसीको सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।'

डा. केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आयोगले आग्रह गरेको छ ।

आयोगले केसीले लगाएको अरोप पुष्टि गर्न चुनौति समेत दिएको छ । 'आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. केसीलाई चुनौति दिन चाहन्छ,' विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै आयोगले केसीमाथि सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आरोपसमेत लगाएको छ । त्यस्तै आयोगले डा. केसी लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिएको छ ।

केसी भ्रष्टहरुबाट नै प्रयोजित भएर आयोगमाथि लाञ्छना लगाएको अख्तियारको आरोप छ । अझ कडा शब्दा प्रयोग गर्दै आयोगले भनेको छ, 'भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।'

प्रेस विज्ञप्तिः

डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ । जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ । प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ । यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ । चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन । अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ । डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ । साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ । (कृष्णहरि पुस्कर) प्रबक्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप