सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मङ्सिरमा स्थानीय निर्वाचन हुन्छ : उपप्रम थापा

आइतबार, १२ असार २०७३, २० : १४
आइतबार, १२ असार २०७३

विराटनगर - उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले दलहरुको सहमतिमा आगामी मङ्सिर महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

स्थानीय निकायसँग आबद्ध मोरङका सरकारी कार्यालयको समीक्षा गोष्ठीलाई आज यहाँमा सम्बोधन गर्दै उनले आयोगले भदौमा आफ्नो प्रतिवेदन पेस गरेपछि निर्वाचनको मिति तोकिने जानकारी गराए ।

उनले नयाँ जनप्रतिनिधिलाई सक्षम र सुदृढ स्थानीय निकाय हस्तान्तरणका लागि सहयोग पु¥याउन कर्मचारीलाई आग्रह गरे ।

सरकारले विकास निमार्णका लागि स्थानीय निकायमा पठाएको रकम पारदर्शी नभएको भन्दै उनले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी विकास निमार्णमा खर्च गर्न निर्देशन दिए ।

जिल्ला अधिवेशन उद्घाटन

राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले राष्ट्रियताको आत्मसात् गरी फरक विचार र अलग पहिचानका साथ राप्रपा नेपालको स्थापना भएको बताएका छन् ।

राप्रपा नेपाल मोरङको तेस्रो जिल्ला अधिवेशन र हिन्दू जागरणको आज विराटनगरमा शुभारम्भ गर्दै उनले पार्टीको विचार र सिद्धान्तलाई बोकेर आज लाखौँ कार्यकर्ता पार्टीको सङ्गठनलाई बलियो बनाउन लागेको जानकारी गराए ।

दश वर्षकै अवधिमा पार्टीले मुलुकको चौँथो शक्तिको रुपमा पहिचान बनाइसकेको उल्लेख गर्दै उहाँले मन, कर्म र वचनले राष्ट्रियतालाई आत्मसात् गरी मुलुकमा सनातन धर्मको रक्षा गर्न समर्पित भएर लाग्नुपर्ने धारणा राखे । अध्यक्ष थापाले विचारको स्वतन्त्रता, दलमाथि प्रतिबन्ध नलाग्ने, अद्यावधिक निर्वाचन र संविधान संशोधनको सरल व्यवस्था संविधानको मुख्य चार विशेषता रहेको प्रष्ट पारे ।

उपप्रधानमन्त्रीसमेत रहेका थापाले जनताको विश्वासप्राप्त गरेर संविधानको संशोधन गर्न सकिने भएकाले मधेसी मोर्चालाई आन्दोलनको बाटो छोडेर जनताको अभिमत लिन आग्रह गरे । राप्रपा नेपालले संविधानको आलोचनात्मक समर्थन गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष थापाले पार्टीले आफ्नो एजेन्डा नछोडेको र निर्वाचनमार्फत आफ्नो एजेण्डा पूरा गर्ने बताए ।

राप्रपा नेपाल मोरङका अध्यक्ष उद्धवप्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सयन्द्र वान्तवा, अर्का केन्द्रीय सदस्य बासुदेव भट्टराई र जिल्ला उपाध्यक्ष भरतप्रसाद पौडेलले अधिवेशनको सफलताको कामना गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप