मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मेस्सी र अर्जेन्टिना फेरि असफल : चिलीलाई कोपा अमेरिकाको उपाधि

सोमबार, १३ असार २०७३, ०८ : ५०
सोमबार, १३ असार २०७३

न्यु जर्सी – लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना मुख्य प्रतियोगितामा फेरि असफल बनेको छ । सोमबार सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अर्जेन्टिना पुनः एक पटक उपाधिको नजिक पुगेर त्यसलाई जित्न असफल बनेको छ ।

फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले यो लगातार तेस्रो पटक हो । यसअघि, अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पुगेको थियो ।

क्लाओडियो ब्राभोले लुकास रोड्रिगो बिलिगाको निर्णायक पेनाल्टी बचाउ गरे भने फ्रान्सिस्को सिल्भाले पेनाल्टीलाई गोलमा परिणत गर्दै चिलीलाई ४–२ को जित दिलाए । यसअघि निर्धारित खेल र अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । दुवै टोलीले सुन्दर अवसरहरु सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

पाएको अवसर सदुपयोग गर्न नसक्ने आरोप लाग्दै आएका गोन्जालो हिग्वाइनले सुन्दर अवसर गुमाए । यसअघि, सन् २०१४ को विश्वकप र २०१५ को कोपा अमेरिकामा उनले त्यस्तै अवसर गुमाएका थिए ।

खेलको पहिलो हाफमा मार्कोस रोहो र मार्सेलो डियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि दुवै टोली १० खेलाडीमा सिमित बनेको थियो ।

८२ हजार दर्शक सामु खेलिएको खेलमा पहिलो पेनाल्टी एलेक्सिस भिडालले मिस गरे । त्यसपछि आएका मेस्सीले पनि गोल गर्न सकेनन् ।

एक वर्षअघिको फाइनलमा पनि चिलीले अर्जेन्टिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गरको थियो । २३ वर्षदेखि उपाधिविहिन अर्जेन्टिनाले अझै केही समय पर्खनुपर्ने भएको छ । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक उपाधि जितेको थियो ।

अर्जेन्टिनाका सर्जियो रोमेरोले फेयर प्ले अवार्ड जिते भने चिलीका क्लाउडियो ब्राभोले गोल्डन ग्लोब अवार्ड जिते । प्रतियोगितामा ६ गोल गरेका एडवार्डो भारगासले गोल्डन बुटको अवार्ड हात पारे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका एलेक्सिस सान्चेजले गोल्डन बलको अवार्ड हात परे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप