मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन महिनादेखि स्वास्थ्य केन्द्र डक्टरविहीन

सोमबार, १३ असार २०७३, १३ : ३७
सोमबार, १३ असार २०७३

सोलुखुम्बु– सोलुखुम्बुको सोताङमा प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डक्टरविहीन हुँदा कोसीपारिका बिरामी उपचारबाट वञ्चित भएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक डेनप्रसाद आचार्य थप अध्ययनका लागि काठमाडौँ गएको तीन महिना बित्दासमेत अर्को चिकित्सकको व्यवस्था नगर्दा स्वास्थ्य केन्द्रको सेवा पूर्णरुपमा प्रभावित भएको हो । अहिले उक्त स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलिरहेको छ ।

गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अन्यत्र जानुपर्ने कोसीपारिका बासिन्दाको बाध्यता छ । तर सोताङ बुङ, छेस्काम, गुदेल, वाकुलगायतका आठ गाविसका नागरिकको उपचारको केन्द्र रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अर्को चिकित्सकको व्यवस्था गर्न अझै चार महिना लाग्ने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्वास्थ्य कार्यालय फाप्लुका प्रमुख रोशनलाल चौधरीले दसैँसम्म नयाँ चिकित्सकको व्यवस्था गर्न नसकिने बताए । डा आचार्यको दरबन्दीमा अर्को चिकित्सक ल्याउन समय लाग्ने उनको भनाइ छ । तर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए । स्वास्थ्य मन्त्रालय र विभागसँग आज नै कुरा गर्ने बताउँदै प्रजिअ शर्माले तीन महिनासम्म सर्वसाधारणले सेवा नपाएको भन्दै अबको केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए । सदरमुकामबाट १२ कोष टाढा रहेको सोताङस्थित सो प्राथमिक स्वास्थ्य केन्द्र सदरमुकाम आउनकै लागि तीन दिन लाग्ने कोसीपारिका आधादर्जन गाविसवासीका लागि उपचार गर्ने एक मात्र स्वास्थ्य केन्द्र हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप