मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाएको ५० हजारसहित सामान फिर्ता गर्ने महिला

सोमबार, १३ असार २०७३, १३ : ४०
सोमबार, १३ असार २०७३
दाङ– यहाँकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् । आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् । चालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेकी हुन् । सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गरिन् । “सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेकी छु । भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।” उनले रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केही लत्ताकपडा, गरगहना र औषधि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताइन् । उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरिन् । यसैबीच आफ्नो नगद रु ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता गरेकामा आचार्यले उनलाई धन्यवाद दिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप