मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गुण्डाका धन्दा : हतियार भिरेर मालाको सिन्डिकेट

सोमबार, १३ असार २०७३, १५ : ४०
सोमबार, १३ असार २०७३

काठमाडौं–राजधानीमा प्रहरीले निगरानी बढाएसँगै राजधानीमा गुण्डागर्दीमा संलग्न हुँदै आएका दावा लामासहितका एक समुह काभ्रेको तिमालमा केन्द्रीत भएका छन् ।

केही महिना अघिमात्र जेलबाट छुटेका दावा र उनका सहयोगीहरुले भक्तपुर र बौद्धमा जुवा खेलाएर मोटो रकम असुलेको स्रोतको भनाई छ । सोही रकम लिएर दावाको समुह काभ्रेको तिमाल क्षेत्रमा बुद्धचित्त माला ब्यापारमा सक्रिय भएको पाइएको छ ।

राजधानीको जुवाखालमा प्रहरीले लगातार छापा मार्न थालेपछि बुद्धचित्त मालामा आँखा गाडेको दावा समुहले काभ्रेको तिमाल लगायतका क्षेत्रमा उत्पादित माला बगौंचामा कसैलाई छिर्न दिएका छैनन् ।

‘पञ्चे लामा, दावा लामा र अशोक लामाले दुई महिनाअघि जुवा खेलाएर दुई जना जग्गा कारोवारीबाट दुई करोड नगद र एउटा गाडी कब्जा गरेको रहेछ’ माला ब्यापारमा संलग्न एक ब्यापारीले भने, ‘अहिले त्यहि पैसाको आडमा काभ्रे जिल्लाभरीको बुद्धचित्त मालामा सिन्डिकेट लगाइएको छ ।’

जेलबाट छुट्नासाथ श्रीलंका पुगेका दावा हाल बुद्धिष्टहरुसँगको सेटिङमा हतियार भिरेर तिमाल क्षेत्रका डाँडा कब्जा गरेर बुद्धचित्त सप्लाईमा सक्रिय रहेको पाईएको हो । किसानलाई हतियार प्रदर्शन गरेको भरमा कौडीको मुल्यमा माला खरिद गर्न सक्रिय सो सुमहले पेस्तोल भिरेका युवाहरुलाई मालाको रक्षाका लागी खटाउने गरेका छन् । किसानको बारीमा फलेको बुद्धचित्त बिक्रीका लागि योग्य नहुँदासम्म चोरिने र लुटपाट हुने डरले यसरी रखबारी गर्ने गरिन्छ । स्रोतका अनुसार दावाले प्रविन केसी, विरेन्द्र कुँवर, प्रकाश कुँवर, सुजन तामाङ र अशोक लामा लगायतका आफ्नै समुहमा कार्यरत युवाहरुलाई मालाको रक्षा गर्ने काममा खटाएका छन् ।

यसरी बुद्धचित्तमा सिन्डीकेट लगाएको गुण्डा समुहले धुलीखेलको एक रिसोर्ट बुक गरेर पालैपाले रिफ्रेसमेन्टका लागी आउने जाने गरेको बताईएको छ । दावा हरक्षण आफ्नो गाडीमा पाँच करोड नगद बोकेर हिँड्छन् । ‘बाटोमा प्रहरी चेकिङ परेमा या अफिसर लेभलले अप्ठेरो पार्न खोजेमा पैसा चाहिने हुनाले यसरी दावाले करोडौं बोकेका हुन्’ उनलाई नजिकबाट चिन्ने एक ब्यवसायी भन्छन्, ‘मालामा सिन्डीकेट लगाएर चालिस करोड हात पारेपछि उसले बैंककमा होटल खोल्ने योजना बनाएको छ ।’

ज्यान मार्ने उद्योग र लागु औषध मुद्धा खेपेर जेलबाट छुटेका दावा हाल गोवामा छन् । ‘उनले गोवामा बसेर काभ्रेको बुद्धचित्तमा सिन्डीकेट लगाएका छन्’ ति ब्यवसायी भन्छन्, ‘श्रीलंकामा क्यासिनो चलाएका छन्, अर्को पटक कांग्रेसबाट चुनाव लड्न खोजेका छन् ।’ काभ्रे प्रहरी प्रमुख एसपी रमेशनाथ बास्तोलाले आफूहरुले बोधिचित्त कारोबार हुने क्षेत्रमा गस्ती बढाएको जानकारी दिँदै कसैले अवैध ढंगले कारोबार गरेको पाइए कारबाही गर्ने बताए । हतियार बारेको रातोपाटीको जिज्ञासामा उनले हतियार बोक्ने छुट कसैलाई नभएको र कसैले हतियारको आडमा गुण्डागर्दी गरेर किसानलाई मर्का पार्ने कार्य गरेको आफूहरुसम्म उजुरी नआएको भन्दै उजुरी आएको खण्डमा कारबाही प्रक्रिया अघि बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप