मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संसद् बैठक भोलिसम्मको लागि स्थगित, सहमति खोज्न कार्यदल गठन

सोमबार, १३ असार २०७३, १६ : ४२
सोमबार, १३ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।संसद्को आजको पहिलो बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण अवरुद्ध भएपछि दोस्रो बैठक ३ः३० बजे बस्ने गरी स्थगन थियो । तर, अवरुद्ध बैठक खोल्ने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति हुन नसकेपछि बैठक मङ्गलबार अपराह्न ३ः३० बजे पुन बस्ने गरी स्थगन गरिएको हो।

अवरुद्ध संसद् बैठक खोल्ने सम्बन्धमा सहमति जुटाउन प्रतिपक्षसँग प्रारम्भिक छलफल भए पनि टुङ्गोमा पुग्न नसकेका कारण बैठक मङ्गलबारसम्मका लागि स्थगन गरिएको सांसद डा प्रकाशशरण महतले जानकारी दिए । संसद् सचिवालयले भने विशेष कारणवश बैठक स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, डा प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालगायत नेता सम्मिलित कार्यदल गठन गरिएको बुझिएको छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले पूर्व अर्थमन्त्री डा रामशरण महतले सदनमा व्यक्त गरेको विषय भरपर्दो नभएको बताए । उनले मङ्गलबारसम्म प्रतिपक्ष दलले गम्भीर भएर सोचेर आउने र संसद् चल्नेमा आफू विश्वस्त रहेको बताउँदै सहमतिका लागि भोलि बिहान ८ बजे कार्यदलको बैठक बस्ने जानकारी बताए ।

काँग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै चार दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप