मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘अन्टार्टिकामा नेपाली माटो’ प्रदर्शन हुने

सोमबार, १३ असार २०७३, १६ : ५०
सोमबार, १३ असार २०७३

बागलुङ– शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ यहाँ ‘अन्टार्टिकामा नेपाली माटो’ नामक वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।

रोटरी र रोट्र्याक्ट क्लब अफ बागलुङले सःशुल्क उक्त वृत्तचित्र प्रदर्शन गर्न लागेका हुन् । अन्टार्टिका महादेशमा पुग्ने पहिलो नेपाली बागलुङका भुवनसिंह विश्वकर्माका बारेमा बनेको यो वृत्तचित्र यही असार १५ र १६ गते प्रदर्शन हुनेछ ।

‘खुट्टामा जुत्ता’ अभियान चलाएको क्लबले पोसाक, खाजा, शैक्षिक सामग्रीको अभावमा विद्यालय जान नपाएका बालबालिकाको सहयोगका लागि वृत्तचित्र देखाउन लागेको हो । प्रदर्शनीबाट आएको रकमबाट कोष स्थापना गरेर विपन्न परिवारका बालबालिकालाई सहयोग गरिने रोटरी क्लब अफ बागलुङका अध्यक्ष गगनलाल शाक्यले बताउनुभयो ।

वृत्तचित्र हेर्नका लागि संस्थागत रु ५००, व्यक्तिगत रु ३०० र विद्यार्थीलाई रु १०० को टिकट व्यवस्था गरिएको छ । पर्सि असार १५ गते सर्वसाधारण र १६ गते विद्यार्थीका लागि वृत्तचित्र प्रदर्शन गरिने भएको छ । बागलुङ बजारस्थित कालीगण्डकी चलचित्र मन्दिरमा प्रदर्शन हुने वृत्तचित्रबाट उठ्ने रकमबाट रु ५० हजारभन्दा बढीको कोष स्थापना गर्ने लक्ष्य लिइएको छ । टिकट बेचेर आएको कुल आम्दानीको ५० प्रतिशत भने वृत्तचित्र निर्मातालाई दिइनेछ ।

बागलुङ नारायणस्थान–५ का भुवनसिंह भारतीय सेनामा कार्यरत रहँदा अन्टार्टिका महादेश पुग्नुभएको थियो । दुईपटकसम्म त्यहाँ पुग्ने अवसर पाउनुभएका बिकको अनुभव समेटेर वृत्तचित्र तयार गरिएको छ । यसअघि पनि सेवामूलक कार्यका लागि उक्त वृत्तचित्रको विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो । वृत्तचित्रको एक घन्टाको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप