सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलाई अष्ट्रेलियामा पक्राउ गर्ने कुनै योजना थिएनः प्रचण्ड

मङ्गलबार, १४ असार २०७३, २० : १४
मङ्गलबार, १४ असार २०७३

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले भेटेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार बिहान भएको भेटका क्रममा राजदूत ग्लेनले अष्ट्रेलिया भ्रमण स्थगित भएको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत बताए । आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको समेत उनको स्पष्टोक्ति थियो ।

जवाफमा प्रचण्डले पनि मिडियामा आएको जस्तो स्थिति नरहेको बारे आफु अवगत रहेको बताउँदै वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको बताएको उनको नीजि सचिवालयले जनाएको छ । यस्तै प्रचण्डले अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताउँदै उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने प्रतिबद्धता बताए ।

सो अवसरमा प्रचण्डले नेपालको राजनीतिक अवस्थाबारे चर्चा गर्दै प्रचण्डले नेपालको राजनीतिक विकास प्रक्रिया  विशिष्ट खालको रहेको बताए । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहेको अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताए । उनले भने, ‘यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ, र अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।’

यसैबीच प्रचण्डले रातोपाटीसँग कुरागर्दै आफूलाई अष्ट्रेलियामा पक्राउ गर्न लागिएको भन्ने समाचारहरुको कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले भने, ‘पक्राउ पर्ने डरले अष्ट्रेलिया भ्रमण रद्द भएको होइन, आन्तरिक व्यवस्तताले अष्ट्रेलिया जान नमिलेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप