मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एक सय २५ जना अपाङ्गले पाए परिचयपत्र

मङ्गलबार, १४ असार २०७३, १२ : ४३
मङ्गलबार, १४ असार २०७३

सोलुखुम्बु- भकाञ्जे–६ सोलुखुम्बुका भीमबहादुर बस्नेतले ७२ वर्षको उमेरमा ‘क’ वर्गको अपाङ्गता परिचयपत्र लिनुभयो ।

सानैदेखि ढाडमा समस्या भएर हिँडडुल गर्न नसके पनि अहिलेसम्म बस्नेतले अपाङ्गता परिचयपत्र बनाउनुभएको थिएन । भौगोलिक विकटताका कारण सदरमुकामसम्म जान नसक्नुभएका बस्नेतलाई प्रमुख जिल्ला अधिकारी र महिला विकास अधिकृतसहितको टोली उहाँको घरमा नै पुगेर बस्नेतलाई परिचयपत्र बनाइदिएको हो ।

टाक्सिन्दु–१ की विवालक्ष्मी राईले पनि ७१ वर्षको उमेरमा घरमै अपाङ्गता परिचयपत्र लिनुभएको छ । पटक पटक परिचयपत्र बनाउन पहल भएपनि परिचयपत्र लिनका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यताका कारण हालसम्म उहाँले परिचयपत्र लिन सक्नुभएको थिएन । तर एकीकृत घुम्ती शिविर टोली गाउँमा नै पुगेपछि उहाँले परिचयपत्र लिनुभएको हो ।

गतबर्ष माघदेखि जेठ महिनाको अवधिमा जिल्लाका छवटा विकट स्थानमा सञ्चालन भएका घुम्ती शिविरबाट राई र बस्नेतजस्ता १२५ जनाले अपाङ्गता परिचयपत्र लिएको बालबालिका तथा महिला विकास कार्यालयका महिला विकास अधिकृत सावित्रा न्यौपानेले बताउनुभयो ।

“अपाङ्गता भएका नागरिकहरु परिचयपत्र लिनका लागि सदरमुकामसम्म आउन नसक्ने र कर्मचारीहरुको नागरिकप्रतिको उत्तरदायित्वलाई मध्यनजर गरी सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा लिएका हुन्,” उहाँले भन्नुभयो ।

महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार गतबर्ष माघदेखि जेठको अवधिमा जिल्लाका विभिन्न छ स्थानमा सञ्चालित शिविरबाट ‘क’ वर्गको २५, ‘ख’ वर्गको ५९, ‘ग’ वर्गको २३ र ‘घ’ वर्गको १८ गरी एक सय २५ जनाले परिचयपत्र बनाएका छन् ।

उनीहरु सदरमुकाम पुग्न पहुँच नहुँदा परिचयपत्रविहीन थिए । सो अवधिमा कार्यालयबाट भने ‘क’ वर्गको चार, ‘ख’ वर्गको १३, ‘ग’ वर्गको छ र ‘घ’ वर्गको एक गरी २४ जनाले परिचयपत्र बनाएका बालबालिका तथा महिला विकास कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा धेरै नागरिक विभिन्न कारणले सरकारी सेवा लिनबाट वञ्चित रहेकाले अब असोजदेखि पुनः निरन्तर रुपमा विकट गाविसमा शिविर सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

“वर्षात्को समय भएकाले असारदेखि भदौसम्म शिविर सञ्चालन हुँदैन । असोजदेखि बाँकी रहेका गाविसमा निरन्तर शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ,” उहाँले भन्नुभयो ।

सदरमुकाम गएर पाइने सबै प्रकारका सेवा गाउँमा नै पाउन थालेपछि स्थानीयवासी निकै खुसी भएका छन् । जिल्लाका छ वटा स्थानमा शिविर सञ्चालन हुँदा धेरैले वृद्धावस्थामा नागरिकता, अपाङ्गता परिचयपत्र पाएका छन् भने गोली–४ मैलीका एक सय छ घरपरिवारले २९ वर्षपछि जग्गाको धनीपुर्जा पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप