सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वर्षा र गर्मीसँगै सर्पदंशका बिरामी बढे

मङ्गलबार, १४ असार २०७३, १५ : ३७
मङ्गलबार, १४ असार २०७३

दमक–गर्मी बढेसँगै झापाका ग्रामीण बस्तीमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि वैशाखयता ठूलो सङ्ख्यामा सर्पदंशका बिरामी उपचारमा आउने गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले जनाएको छ ।

उपशाखा दमकले सञ्चालन गरिरहेको दमक–१२ स्थित सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक ७–८ जना बिरामी उपचारमा आउने गरेका छन् ।

गर्मीसँगै पानी पर्न थालेपछि सर्पदंशका बिरामी पनि बढेको सर्पदंश उपचार केन्द्र दमकका प्राविधिक खेम अधिकारीले जानकारी दिए । उनका अनुसार पानी पर्न थालेपछि असारको १२ दिनमा ६७ जना सर्पदंशका बिरामीले उपचार गराएका छन् । उनले पछिल्लो अढाइ महिनामा दुई सय ८३ जना सर्पदंशका बिरामीको उपचार गराएको बताए । केन्द्रको तथ्याङ्कअनुसार चालु आवको वैशाखमा ७५, जेठमा एक सय ४१ र असार १२ गतेसम्म ६७ जनाले उपचार गराएका छन् ।

गत वर्ष केन्द्रमा एक हजार दुई सय ६७ जनाले उपचार गराएका थिए भने चालु आवको असार १२ गतेसम्ममा एक हजार ५४ जनाले उपचार गराइसकेका छन् ।

केन्द्रमा जिल्लाका गौरीगञ्ज, खजुरगाछी, महाभारा, बैगुन्धुरा, पाँचगाछीसहित सुरुङ्गादेखि माई पश्चिमका, इलामको चुलाचुली, साक्फारा, बाँझो, महमाई तथा पूर्वी मोरङको बेलबारीसम्मका बिरामी उपचारमा आउने गरेका छन् ।

यस्तै, विहारको फूलबारी, बैरिया क्षेत्रका बिरामी पनि आउने गरेका छन् । केन्द्रका अनुसार उपचारमा आउनेमध्ये अधिकांश महिला रहेका छन् ।

रेडक्रसले दमकमा २०५५ जेठ महिनादेखि उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । झापामा दमक र चारआलीमा गरी दुई वटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

चारआलीस्थित कालीबहादुर गणको अगुवाइ तथा स्थानीयवासीको सहयोगमा चारआलीमा विसं २०६६ सालदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप