सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दलहरु सहमति नजिक

मङ्गलबार, १४ असार २०७३, ०४ : २३
मङ्गलबार, १४ असार २०७३

काठमाडौँ - भूकम्पपीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच आज भएको छलफल सहमति नजिक पुगेको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले यसअघि राख्दै आएको एकमुष्ट रु दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा रु डेढ लाख र दोस्रो किस्तामा रु ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो ।

सचेतक गिरीका अनुसार पहिलो किस्तामा डेड लाख दिन मिल्ने वा नमिल्ने विषयमा अर्थ मन्त्रालय र पुनःनिर्माण प्राधिकरणले थप गृहकार्य गरेर भोलि थप छलफल गर्ने सहमति भएको उनले जानकारी दिए ।

विश्व बैंकसँग यसअघि काँगे्रस नेतृत्वकै सरकारले गरेको सहायता रकम वितरणबारेको सम्झौतालाई समेत मध्यनजर गर्दै टुङ्गोमा पुगिने उनको भनाइ छ ।

काँग्रेस नेता एवम् कार्यदलका सदस्य डा प्रकाशशरण महतले आजको बैठकमा भूकम्पपीडितलाई एकमुष्ठ रकम दिने विषयमा सत्ता साझेदार दल माओवादीसमेत सहमत भएको तर एमालेका कारण निष्कर्षमा पुग्न समस्या परेको बैठकपछि बताए ।

काँग्रेसले एकमुष्ठ रु दुई लाख भूकम्पपीडितलाई दिनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप