सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

बुधबार, १५ असार २०७३, १२ : १६
बुधबार, १५ असार २०७३

काठमाडौँ– हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके ।

भूकम्पपीडित क्षेत्रका बासिन्दाका साथै त्यहाँ उनले बाटो, हेल्थपोस्ट, सामुदायिक भवन र विद्यालय निर्माणमा सहयोग गर्दै आएका छन् ।

भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले उनले रोलवालिङमा स्वास्थ्य चौकी स्थापना गरिसकेका छन् । त्यस्तै नुवाकोटमा बाल विकास केन्द्रका साथै ककनीको निगालेस्थित ब्रह्मेश्वरी निमावि, दोभान गाउँस्थित सुन्दरीकन्या प्राविको अस्थायी भवन बनाउन सहयोग गरिसकेका छन्।

भूकम्पलगत्तै उनले आफ्नो देशबाट सहयोग जुटाएर पीडितका लागि नगदका साथै लाखौँ रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएका थिए ।

नेपाललाई आफ्नो दोस्रो घर मान्ने जोसेफ गाउँ गाउँमै पुगेर सहयोग गरिरहेका छन् र त्यो सहयोगलाई निरन्तरता दिन लागि परेका छन् । उनले आफ्ना साथीभाइका साथै विभिन्न क्षेत्रबाट सहयोग जुटाएर नेपालका भूकम्पपीडितको सहयोग गर्दै आएका हुन् ।

अस्ट्रियामा नेपालका लागि सहयोग गर्ने उनको एक टोली नै छ, जसले विभिन्न तवरले सहयोग जुटाएर नेपालसम्म पठाउँछन् । यो सहयोग लक्षितसम्म पुगे नपुगेको, आफूले सुरु गरेका कामले निरन्तरता पाएनपाएको र अरु थप गर्न सकिने कामबारे जानकार रहन पनि उनी जोसेफ बारम्बार नेपाल आउने बताए ।

जोसेफ अस्ट्रियाका एक व्यवसायी हुन् । उनले सन् २०१२ मा फुर्वा तेन्जिङ शेर्पासँगै सगरमाथा आरोहण गरेका थिए । जोसेफ अस्ट्रियाका सबैभन्दा जेठो उमेरका आरोही हुन् । उनले चौथो प्रयासमा सगरमाथा आरोहरण गरेका थिए । १० पटकसम्म सगरमाथा आरोहण गरेका र हालै ‘वी वील राइज अगेन ‘(हामी फेरि उठ्नेछौँ)’ लेखेको झन्डा सगरमाथासम्म पु¥याउने फुर्वा तेन्जिङ शेर्पाले उनको सहयोगमा हात बढाइरहेका छन् ।

जोसेफले स्थापना गरेका विद्यालय तथा अन्य क्षेत्रमा आवश्यक सामग्रीको उपलब्धता तथा व्यवस्थापन गर्न नेपालबाट फुर्वाले सहयोग गरिरहेका छन् । बीस वर्षदेखि उनी नेपाल आउने जाने गरिरहेका छन् र यो क्रममा उनी ४५ पटकभन्दा बढी आइसकेका छन् । उनलाई शेर्पाको जीवनशैली र दोलखाको रोलवालिङ गाउँको संस्कृतिले प्रभाव पारेको बताउँछन् ।

“सगरमाथा शेर्पा हिमालय हो किनकी हिमालय शेर्पाकै कारण जीवित छन् जस्तो लाग्छ,” जोसेफ भन्छन्, “नेपाल मेरो दोस्रो घर हो । मलाई सगरमाथा र रोलवालिङसँग विशेष प्रेम छ । रोलवालिङ निकै पिछडिएको गाउँ छ ।

बिजुली, मोबाइल, इन्टरनेट छैन । म रोलवालिङबाट सगरमाथा जाने रुट ‘टासी लाच्चा पास’को प्रवर्धन गर्न चाहन्छु र यसका लागि प्रयासरत छ ।” उनले उक्त मार्गमा होटल तथा अन्य व्यवसाय सुरु गरी रोलवालिङको विकासमा काम गर्ने बताए ।

युरोपियनले नेपालबारे थप जानुन् भन्नका लागि उनलाई नेपाल र रोलवालिङबारे पुस्तक निकाल्ने मन छ । त्यसको बिक्रीबाट आएको रकम पनि रोलवालिङकै विकासमा खर्चिने उनको योजना छ । जोसेफले अस्ट्रियामा उनको सम्पर्कमा आउने नेपालीलाई काम खोजी दिने र अन्य सहयोग गर्ने काम पनि गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप