सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अख्तियारमा पेस गर्न नक्कली कागजात तयार गर्दै आयुर्वेद विभाग

बुधबार, १५ असार २०७३, १६ : ०९
बुधबार, १५ असार २०७३

गत मंगलवार दिउँसो २ः३० बजे । टेकुस्थित आयुर्वेद विभागको लेखा शाखाका काजजात धमाधम प्रिन्ट गर्दै फाइलमा राखिँदै थियो । लेखा अधिकृत रमेश कार्की भन्दै थिए, ‘ल–ल फटाफट मिलाउनुस्, भोलि त अख्तियारमा पेस गरिहाल्नुपर्छ । त्यो रातोपाटीमा आएका समाचारभन्दा माथि पर्नेगरी हाम्रा कागज हुनुपर्यो नि ।’ फाइल मिलाउँदै करार कर्मचारी हरि लामिछानेले भन्दै थिए, ‘खत्तम पारे मोराहरूले ।’ यत्तिकैमा रातोपाटी टिम प्रवेश गर्यो । उनीहरूको कुराकानी बन्द भयो । लामिछाने फाइल लिएर अर्को कोठा गए ।

आयुर्वेद विभागमा भएको अनियमितता तथा गुणस्तरहीन औषधि खरिदसम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि विभागका कर्मचारीले धमाधम कागजात मिलाउँदै गरेको प्रमाण हो यो । अख्तियारमा बुझाउनका लागि भन्दै विभागका कर्मचारीले धमाधम नक्कली कागजात तयार पारिरहेको फेलापरेको छ ।

रातोपाटीमा प्रकाशित समाचार कारबाही सिफारिस भएका कर्मचारीलाई कमिसनका आधारमा सरुवा, पूर्वस्टोरकिपर सुन्दर कार्कीको अनियमित हाजिरी, गुणस्तरहीन औषधि खरिदप्रक्रिया, कर्मचारीसँग पैसा लिँदै भ्रमणभत्ता खुवाउँदै गरेको विषयमा अख्तियारले छानबिन सुरु गरेपछि सबै काजगात नक्कली बनाउन लागेका हुन् । उसले छानबिनका लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएपछि उनीहरू नक्कली कागजात मिलाउन लागेका हुन् । यी कागज बन्दै छन् नक्कली कार्यालयले औषधि खरिदप्रक्रिया, भ्रमणभत्ता खाएका कागजात, कर्मचारी सरुवाका कागजात, तत्कालीन स्टोरकिपर कार्कीलाई तलबभत्ता खुवाएको कागजात, सामान खरिद नगरी बनाएका नक्कली बिल र लेखामा दोहोरो सुविधा पर्नेगरी करारमा राखिएका हरि लामिछानेको नियुक्तिसम्बन्धी लेखा शाखामा धमाधम नक्कली कागजात बनिरहेका छन् । किन लेखाले बनाउँदै छ कागज

हिजोआज विभागका धेरै कर्मचारी काजमा छन् । कतिपय कर्मचारी बिदामा छन् । तर, यही बेला अख्तियारको पत्र पनि आउने र मन्त्रालयबाट गएको छानबिन टोलीले कागजात मागेपछि देखाउन हम्मेहम्मे परेका कारण लेखा शाखाले सबै कागजात मिलाउन लागेको हो । त्यसका लागि कैलालीलगायतका पश्चिमका जिल्लामा ओएनएम सर्वेका लागि काजमा रहेका लेखा अधिकृत कार्की कार्यालयमै बसेर धमाधम नक्कली कागजात तयार पारिरहेका हुन् ।

कार्यालयमै बसेर काजको रकम झ्वाम

विभागले जिल्लालाई सञ्चालन गर्न दिएका विभिन्न कार्यक्रमबारे अनुगमन तथा मूल्यांकनमा जानुपर्नेमा विभागका कतिपय कर्मचारी बाजुरा, बझाङ, जाजरकोटलगायतका विकट जिल्ला भ्रमणभत्ता विभागमै बसी नक्कली कागजात बनाएर बुझ्ने गरेका छन् । लामो सयमदेखि यसरी नक्कली कागज बनाएर भत्ता खाइरहेको कर्मचारीको गुनासो छ । ‘कागज त बनाएर पठाए तर निरीक्षण पुस्तिका मागेर हेरेमा थाहा भइहाल्छ । उनीहरूले नक्कली कागज बनाए भन्ने कुरा,’ एक कर्मचारीले भने ।

स्मरणीय कुरा के छ भने विभागका निमित्त महानिर्देशक डा. टेकराज पन्थी यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको प्रमुख हुँदा अख्तियार दुरुपयोय अनुसन्धान आयोगका तत्कालीन सचिव ईश्वरीप्रसाद पौडेललाई नियमविपरीत काजमा पठाएको भन्दै नक्कली कागजपत्र बनाएर रकम दुरुपयोग गरेका थिए । यसबारे अख्तियारमा उजुरी परेपछि अख्तियारले पन्थीले दुरुयोग गरेको रकम फिर्ता गराई विभागीय कारबाही गर्न मन्त्रालयलाई चिट्ठी पठाएको थियो । कानुनतः माथिल्लो तहको कर्मचारीलाई तल्लो ओहोदाको कर्मचारीले काज खटाउन मिल्दैन ।

काजमा रहेका निमित्त महानिर्देशक पन्थी नक्कली औषधि प्याकिङमा व्यस्त

गत मंगलवार पनि कैलालीलगायतका जिल्लामा ओएनएम सर्वेका लागि काजमा रहेका अधिकृत कार्की नक्कली कागजात तयार पार्न व्यस्त थिए । आयुर्वेद चिकित्सक डा. समीरकुमार अधिकारी काजमा रहे पनि आफ्नी श्रीमतीको सरुवा मिलाउन मन्त्रालय र विभाग धाइरहेका भेटिए । त्यस्तै बुधवारसम्म काजमा रहेको भनिए पनि निमित्त महानिर्देशक डा. पन्थी उपसचिव गजेन्द्रनाथ शर्मा, आयुर्वेद चिकित्सक डा. मदनकुमार बिसी, कविराज निरीक्षक हरिबहादुर जिरेललगायतलाई सोमवार दाङमा छाडेर काठमाडौँ फर्किए पनि विभागमा देखिएनन् । स्रोतका अनुुसार उनी ठेकेदारले भारतबाट बोरामा ल्याएका गुणस्तरहीन औषधि प्याकिङ व्यवस्थापन विभागबाहिर बसेर गरिरहेको बुझिएको छ । त्यस्तै आपूर्ति शाखामा प्रमुख आयुर्वेद चिकित्सक डा. नारायण श्रेष्ठ ठेकेदारसँग सेटिङ मिलाउने जिम्मा पाएका कर्मचारीद्वय आयुर्वेद चिकित्सक डा. रामचन्द्र पाण्डे र आयुर्वेद निरीक्षक रामभक्त ढकाल भने गत मंगलवार दिउँसो दुई बजे कार्यालयमा भेटिएनन् ।

विभागमा औषधि नआउँदै गुणस्तर परीक्षणका कागजात तयार पारिँदै

विवादबीच अगाडि बढाइएको औषधि खरिद प्रक्रिया नटुंगिँदै रकम भुक्तानी गर्न विभागले नक्कली कागजात तयार पार्न लागिपरेको छ । महानिर्देशकले गुणस्तर जाँच समितिलाई औषधिको गुणस्तर ठीक छ कि छैन भनी जाँच्ने अनुमति दिने गर्छन् । गुणस्तर समितिले शास्त्रीय र ल्याब परीक्षणबाट औषधिको गुणस्तर जाँच्ने गर्छन् । ‘८४ प्रकारका औषधिको गुणस्तर जाँच्न कम्तीमा १५ दिन लाग्छ,’ गुणस्तर शाखाप्रमुख डा. मनोज चौधरीले भने । विभागले दिएको गुणस्तर परीक्षण पुनः विज्ञ समूहबाट गराउनुपर्ने हुन्छ ।

त्यसरी ढिला हुँदा उक्त औषधिको बिल भुक्तानी यो आर्थिक वर्षमा हुन सम्भव छैन । त्यसैले विभागका कर्मचारीले गुणस्तरको कागजात पनि पहिल्यै तयार गरी २० गतेपछि हस्तारक्षर गर्ने र बिल भुक्तानी गरिहाल्ने तयारी छ । ‘गुणस्तर जाँचका लागि विज्ञ समितिमा को–को राख्ने भन्ने विषमा विभागमा दुई दशकदेखि औषधि कारोबारमा एकछत्र राज गरिरहेका विष्णु सिंखडालाई तोकेका छन्,’ विभागका एक कर्मचारीले भने, ‘उनीहरूको काम त जाँच गर्नेभन्दा पनि तयारी काजगमा हस्ताक्षर गर्नेमात्र हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप