सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वार्ता मोर्चासँग होइन, संघीय गठबन्धनसँग गर्नु पर्छः उपेन्द्र यादव

बुधबार, १५ असार २०७३, १६ : १९
बुधबार, १५ असार २०७३

काठमाडौ– संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकोलागि बार्ता पनि उसैसँग गर्नु पर्ने स्पष्ट पारेका छन् । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गैपनि बार्ता गर्न सकिने धारणा बाहिर आईरहेको बेला रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चा पनि संघीय गठबन्धनमै छ । गठबन्धन आन्दोलनमा छ त्यसैले गठबन्धनसँगै बार्ता गर्नु पर्छ । अलग अलग बार्ता गरेर समस्याको समाधान निस्कदैन । सके आन्दोलनमा रहेका र संविधासभाको निर्वाचनमा नरहेका सबैसँग बार्ता गरे मुलुकले निकास पाउँछ । मोर्चासँग बार्ता गरेर समस्याको समाधान हुँदैन । यदि सरकारले बार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्छ ।’ यादवले गठबन्धनको आन्दोलनमा मधेसी मोर्चाको समेत समर्थन रहेको दावी गर्दै मोर्चाका घटकका कार्यकर्ताहरु अनसनमा सहभागि भईरहेको अवस्थामा राजेन्द्र महतो र महन्थ ठाकुर किन सहभागि नभएको भन्ने विषय उहाँहरुलाई नै सोध्न सुझाव दिए । उनले गठबन्धनमा आबद्ध २८ दलले नै प्रस्ताव गरेर आफूलाई संयोजक चयन गरेको दावी गर्दै गठबन्धनका दलले भने जो संयोजक भए केही फरक नपर्ने र संयोजकले आन्दोलन भने हाक्न सक्नु पर्ने धारणा राखे । उनले आफूले भन्ने गरेको पुर्नलेखन र संसोधन फरक विषय नभएको भन्दै संसोधन समस्या समाधानको प्रक्रिया र पुर्नलेखन परिणाम भएको तर्क गरे । यादवले गठबन्धनले जारी राखेको सत्याग्रह आन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा समर्थन रहेको दावी गर्दै एमाले बाहेकका सबै दल र नागरिक समाजले समर्थन गरिसकेपछि अवस्थामा गठबन्धनको आन्दोलनले जितिसकेको दावी गरे । उनले भने,‘ सत्याग्रह आन्दोलनमा सबैले समर्थन गरिसकेपछि आन्दोलनले जित्छ ।’ यादवले सबैले समर्थन गरिसकेको आन्दोलनलाई संबोधन नगर्ने हो भने राज्यले शान्तिपूर्ण रुपमा कुरा सुन्दैन भन्ने पुष्टि हुने र त्यसपछि मुलुक हिंसात्मक रुपमा जाने चेतावनी दिए ।

यादवले असार मसान्तसम्म आफूहरुको आन्दोलन सत्याग्रहकै रुपमा अघि बढ्ने र त्यसपछि पनि नसुने आन्दोलनको स्वरुप परिवर्तन हुने स्पष्ट पार्दै मुलुकमा विभेद कायम रहेसम्म आन्दोलन जारी रहने चेतावनी दिए । गठबन्धनको आन्दोलनले पहाडे विरुद्ध र विखण्डनको लागि आन्दोलन भन्ने हल्लालाई चिरेको दावी गर्दै आफूहरुको आन्दोलन राष्ट्रिय आन्दोलन भएको दावी गरे । उनले बार्ता प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ४ गते आफै एकतर्फी रुपमा भंग गरेको आरोप लगाउँदै आफूहरु बार्ताबाट कहिल्यै नभाग्ने तर अबको बार्ता फलदायी भने हुनु पर्ने धारणा राखे ।

उनले यथास्थितिमा सरकार तयारी गरेको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नहुने र आफूहरुले हुन समेत नदिने स्पष्ट पार्दै यथास्थितिमा मुलुकले निकास नपाउने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप