सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनसनमा किन जाँदैनन् महन्थ र राजेन्द्र ?

बिहीबार, १६ असार २०७३, १५ : ३९
बिहीबार, १६ असार २०७३

काठमाडौ – संघीय गठबन्धनले रिले अनसन शुरु गरेको आज २४ दिन बितिसक्यो । तर गठबन्धनमा रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अहिलेसम्म अनसनस्थल पुगेका छैनन् ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका यी दुई नेताहरु अनसनस्थल नै नपुगेका हुन् । जेठ २५ गतेदेखि शुरु भएको अनसनको आज २४ दिन पुगेको छ । अनसन शुरु भएपछि तमलोपाले आफ्नो महाधिवेशन भएका कारण अनसनमा सहभागि नहुने जानकारी गराएका थियो तर महाधिवेशन सकिएको आज आठ दिन भइसक्दा पनि कुनै नेता पुगेका छैनन् । अध्यक्ष महन्थ ठाकुरदेखि लिएर अन्य नेताहरु दिनभरि पार्टी कार्यालयमा बसेका हुन्छन् तर अनसनमा नजाने गरेका हुन् ।

बरु अनसनमा ऐक्यवद्धता जनाउँन पूर्वराष्ट्रपति परमानन्द झा, नेपाल काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई, नेकपा माओवादी (क्रान्तकारी) का अध्यक्ष मोहन वैद्य किरणलगायतका नेताहरु पुगिसकेका छन् । यसबारे तराई मधेश लोकतान्त्रिक पार्टीका नेता बीपी यादवले भने, अनसन शुरु हुँदा हामी महाधिवशेनको तयारीमा थियौं त्यही भएर जान सकेनौ, अहिले पनि पार्टीको विभिन्न कार्यमा व्यस्त भएकाले जान पाएका छैनौ । फुर्सद हुने वित्तिकै जान्छौ ।’

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय गठबन्धनको संयोजक बनेपछि अध्यक्ष ठाकुरले असन्तुष्टि जनाउँदै आएका छन् ।

तर, गठबन्धनको संयोजक सबैको सल्लाहमा सहमतिमै बनेको दावी उपेन्द्र यादवले गर्दै आएका छन् । उनी संयोजक भएको दिन सो पार्टीका उपाध्यक्ष ह्रदयश त्रिपाठीको उपस्थिति थियो ।

यता, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि अनसनप्रति असन्तुष्टि जनाउँदै सोको कुनै तुक नरहेको प्रतिकृया दिएका छन् । पार्टीको पत्रकार सम्मेलनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष महतोले भनेका थिए, यस प्रकारको अनसनले काठमाडौलाई कुनै दवाव दिन सक्दैन ।’

अन्य अन्य दलले ऐक्यवद्धता जनाइसकेका छन् तर तपाईकै दल सहभागि रहेको गठबन्धनले आयोजना गरेको अनसनमा अझै तपाई जानु भएको छैन नि भन्ने जिज्ञासामा उनले फूर्सद भएपछि जाने प्रतिकृया दिए । उनले भने, ‘जब फुर्सद हुन्छ तब जान्छु,, अहिले फुर्सद छैन ।’

अनसनको शुरुवातमा अध्यक्ष महतोले आफ्ना प्रतिनिधिहरु पठाएका थिए तर पछि त्यो पनि पठाउन छाडेका हुन् । असनमा सबभन्दा बढी नेता तथा कार्यकर्ताहरु उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको हुने गरेको एक नेताले बताए । त्यसपछि एक दुईजना गरि अन्य दलका हुन्छन् । मधेशी मोर्चाका दुई दलले असहयोग गरेपनि अनसन कार्यक्रम सफल भएको उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप