सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबुरामले भने–स्थानीय निकायको निर्वाचनमा नयाँ शक्ति सहभागि हुन्छ

बिहीबार, १६ असार २०७३, १८ : १७
बिहीबार, १६ असार २०७३

काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबैभन्दा पहिले स्थानीय निकायहरुको संविधानमा व्यवस्था भएबमोजिम पुन:संरचना गर्नुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको छलफलका क्रममा उनले स्थानीय निकायहरुको पुन:संरचना भइसकेपछि हुने निर्वाचनमा नयाँ शक्ति नेपाल सहभागी हुने पनि स्पष्ट पारे । तराई–मधेश, थारुवान क्षेत्र, आदिवासी जनजातिहरुको राज्य पुन:संरचनामा रहेको असन्तुष्टीलाई सम्बोधन पनि तत्कालै गर्नुपर्नेमा पनि उनले जोड दिए ।

संविधानले परिकल्पना गरेको तीन तह: केन्द्र, प्रदेश र स्थानीय अनुसार अहिलेका गाविस र नगरपालिकाहरुको पुन:संरचना, प्रदेशहरुको सीमांकन, निर्वाचन क्षेत्रको निर्धारण हुनुपर्ने र संविधानबमोजिम बनेका निकायहरुको निर्वाचन हुनुपर्ने उनले बताए । त्यसरी हुने स्थानीय, प्रदेश र संसद्को निर्वाचनमा सहभागी हुनका लागि आवश्यक रणनीति, कार्यक्रम, अभियान सञ्चालन गर्नका लागि नयाँ शक्ति नेपालले संसदीय मामिला विभाग नै निर्माण गरेको उनले बताए ।

छलफलका क्रममा उनले नयाँ शक्ति नेपालको अन्तरिम विधानका प्रावधान र संगठनात्मक सिद्धान्तको व्याख्या गरेका थिए । नयाँ शक्ति नेपालले सार्वजनिक छलफलका लागि विधान सार्वजनिक गरिसकेको छ । व्याख्याका क्रममा उहाँले प्रारम्भिक रुपमा मार्गदर्शक सिद्धान्तका रुपमा समुन्नत समाजवाद उन्मुख वाम…–लोकतन्त्र हुने कुरा छलफलमा लैजाने र ज्ञान–विज्ञानका पछिल्ला आविष्कारहरुको अध्ययन अनुसन्धान र व्यापक बहस–छलफल गरी महाधिवेशनबाट अन्तिम रुप दिने बताए । पार्टीभित्र लोकपाल, अनुशासन आयोग, सदाचार आयोगको निर्माण गरी पार्टीलाई पारदर्शी, सुसंस्कृत बनाउने पनि उनले बताए ।

नयाँ शक्ति नेपालले पार्टीका सबै कमिटीहरु पार्टी सदस्यहरुको प्रत्यक्ष मतदानद्वारा निर्माण गर्ने, बहुमतको कार्यान्वयन अल्पमतको सम्मान गर्ने, शक्तिपृथकीकरणको प्रयोग गर्ने, राजकीय मनोनयन र पदका लागि आन्तरिक निर्वाचन गर्ने, व्यक्ति नभई पद पूर्णकालीन बनाउने, एक व्यक्ति एक पद दुई कार्यकालको नीति अपनाउने, सुशासन कायम गर्ने, भ्रष्टाचारमा शून्यसहनशीलताको नीति अवलम्बन गर्ने, सामाजिक विभेद र अपराधविरुद्ध शून्यसहनशीलता अपनाउने, अध्ययन अनुसन्धान र सूचनालाई प्राथमिकता दिने, स्वस्थ जीवनका लागि योग, ध्यान र प्राणायामको नीति लगायतका संगठनात्मक सिद्धान्त र यसका आधारमा विधान बनाएको छ ।

संयोजक भट्टराईले पार्टीले असार १५ देखि असोज १५ सम्मको तीन महिने तत्कालीन कार्ययोजना अन्तरगत भूकम्पपीडित जनतालाई सहयोग गर्ने, कालाबजारी, महंगी, भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्ने लगायतका काम गरी जनताको पिरमर्कामा सहयोगी भूमिका पनि खेल्ने र सँगसँगै संगठन निर्माणको काम पनि गरिने बताए । छलफलमा आर्थिक व्यवस्थापन तथा सुशासन विभागका संयोजक रामेश्वर खनालले पार्टी स्थापना राष्ट्रिय भेलामा प्रस्तुत ‘विकास र समृद्धिको मार्गचित्र’ नामक दस्तावेजको मूल पक्षको बारेमा स्पष्ट पार्नुभएको थियो । नयाँ शक्ति नेपालले केही दिनपछि उक्त दस्तावेज परिमार्जनसहित सार्वजनिक छलफलका लागि सार्वजनिक गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप