सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिक क्षेत्रले पर्यटनलाई ध्यान दिन सकेन : उपप्रमन्त्री केसी

शनिबार, १८ असार २०७३, १८ : ४०
शनिबार, १८ असार २०७३

काठमाडौँ– उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसीले पर्यटन क्षेत्रलाई सरकारले ध्यान दिन नसकेको बताएका छन् ।

ओखरकोट पर्यटन ग्रामीण विकास समिति प्यूठानले यहाँ आज आयोजना गरेको ‘नेपालमा पर्यटन विकासको सम्भावना, समस्या र चुनौती’ विषयक अन्तक्र्रियामा बोल्दै उपप्रधानमन्त्री केसीले राजनीतिक दलका नेतामा पर्यटन क्षेत्रको विकास गर्नुभन्दा राजनीतिको चिन्ता भएको बताए ।

उनले भने, “नेपालमा पर्यटनको ठूलो सम्भावना छ तर दलका नेतामा पर्यटनको विकासमा लाग्नुभन्दा राजनीति कसरी टिकाउने भन्ने चिन्तामा छन् ।” उपप्रधानमन्त्री केसीले नेपालमा भएको प्राकृतिक स्रोत साधनलाई प्रयोग गरी पर्यटनको विकास गर्नु जरुरी रहेको उल्लेख गरे ।

उनले लुकेका पर्यटन क्षेत्रको पहिचान गरी मुलुकलाई आर्थिक उन्नतिको बाटोमा अगाडि लैजानु आवश्यक रहेको बताउँदै मुलुकको प्राकृतिक, धार्मिक, सांस्कृतिकलगायतका क्षेत्रलाई जनतामाझ चिनाउनु जरुरी रहेको स्पष्ट पारे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री आनन्दप्रसाद पोखरेलले काठमाडौँमा बसेर ठूला होटल सञ्चालन गरेर मात्र पर्यटनको विकास हुन नसक्ने बताए । उनले भने, “पर्यटनको विकास गर्ने हो भने होमस्टे घरबासको विकास गर्नु जरुरी छ ।”

मन्त्री पोखरेलले नेपालको घरघर र गाउँगाउँ पर्यटकीय क्षेत्र भएकाले यसको विकास र विस्तारका लागि सरकार गम्भीर भएको स्पष्ट पारे । उनले ग्रामीण पर्यटन विकासका लागि नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको बताउँदै प्राकृतिक, सांस्कृतिक, धार्मिक, कृषिलगायतको क्षेत्रको विकास भएमात्र पर्यटनको विकास हुने स्पष्ट पारे ।

पर्यटनविज्ञ प्रा डा रुद्रप्रसाद रेग्मी, समितिका अध्यक्ष दुर्गा पौडेल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियालगायतले नेपालको पर्यटनको विकास ग्रामीण क्षेत्रबाट भएकाले ग्रामीण पर्यटनलाई सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा डा विश्वमोहन आचार्य र मोहनविक्रम सिंहले पर्यटनको विकास र विस्तारका लागि तयार पारिएको कार्यपत्र प्रस्तुत गरेका थिउ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप