सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकार मनपरी ढङ्गले अघि बढ्योः सभापति देउवा

शनिबार, १८ असार २०७३, १९ : २१
शनिबार, १८ असार २०७३

बनेपा– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गरेका छन् ।

पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकको भवन शिलान्यासपछि आज बनेपामा आयोजित कार्यक्रममा उहाँले सरकार मनपरी ढङ्गले अघि बढेको आरोप लगाए ।

सभापति देउवाले संविधानको कार्यान्वयन र भूकम्पपीडितलाई बसोबासको व्यवस्था गर्ने चुनौती काँग्रेसको काँधमा आएको उल्लेख गर्दै हिउँद र वर्षासमेत सकिन लाग्दा भूकम्पपीडितको पक्षमा सरकारले कुनै काम गर्न नसकेको बताए । उनले भने – “भूकम्पपीडित जुनसुकै पार्टीका हुन् तर कसैको नाम छुट्नुहुँदैन र भूकम्पपीडितमाथि जुन जिल्लामा अन्याय हुन्छ त्यस्ता जिल्लामा जुलुस र विरोध पनि गर्न जरुरी छ ।

नेता देउवाले नेकपा एमालेले नै स्थानीय चुनाव गर्न नचाहेको आरोप लगाउँदै राज्य पुनःसंरचना आयोगको रिपोर्ट आगामी साउन, भदौमा नै आउनुपर्ने बताए ।

उनले प्रान्तीय चुनावलगायतका विभिन्न चुनावका विषयमा समेत सरकारले कुनै तयारी नगरेको भन्दै संविधान कार्यान्वयन नभए फेरि मुलुक अप्ठेरोमा पर्छ भने ।

नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी ओलीलाई भूकम्पपीडित जस्तै एक दिन पालमा बसेर अनुभव गर्न आग्रह गरिन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अस्थिर राजनीति भए पनि अर्थतन्त्र टिकेको भन्दै नेपाली काँग्रेसको दर्शनमा नै कम्युनिस्ट पार्टीहरु अघि बढेको जिकिर गरे ।

सो कार्यक्रममा सांसदद्वय कञ्चनचन्द्र वादे, तीर्थ लामा, पूर्व सांसद शिवप्रसाद हुमागार्इं, नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, उपाध्यक्ष अच्युत पौडेललगायतले सरकारको आलोचना गर्दै भूकम्पपीडितलाई शीघ्र राहत उपलब्ध गराउन आग्रह गरेका थिए ।

सात आना तीन पैसा एक दाम जग्गामा रु तीन करोडको लागतमा नेपाली काँग्रेस काभ्रेपलाञ्चोकले आफ्नो भवन निर्माण गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप