सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टावर निर्माणमा अवरोध गर्ने पक्राउ

शनिबार, १८ असार २०७३, १८ : ४५
शनिबार, १८ असार २०७३

सिन्धुली,–निर्माणाधीन खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनअन्तर्गत सिन्धुली खण्डमा निर्माण कार्यमा अवरोध खडा गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज हाइटेन्सनको टावर निर्माण गर्ने क्रममा स्थानीयवासीले अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका–७ बर्देउटार निवासी मनोजबहादुर प्रधान, नारायण थापा, चन्द्रबहादुर विक, मदनकुमारी प्रधान, रमेशकुमार प्रधान, हेमशङ्खर विक, अम्बिका थापा, सानुमाया राजभण्डारी, गणेश कार्कीलगायतका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

टावर निर्माण कार्यमा अवरोध भएपछि उनीहरुलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले जानकारी दिए । उनीहरुले निर्माण कार्यमा खटिएका कर्मचारीहरुलाई गालीगलौज गर्ने, कुटपिट गर्ने, धम्की दिँदै लाठीले घोच्ने गरेका कारण पक्राउ गरिएको उहाँले जानकारी दिए ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र २४ घन्टाभित्र छलफलमा आई निर्माण कार्यमा अवरोध नगर्ने प्रतिबद्धता जाहेर भएपछि मात्र छाडिने प्रहरीले जनाएको छ ।

यदि खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाइन निर्माण आयोजना समितिले उनीहरुविरुद्ध निवेदन दिएमा तत्कालै कानुन बमोजिम कारबाही गर्ने प्रहरी नायब उपरीक्षक मगरले जानकारी दिए । २४ घन्टासम्म छलफलमा नआएमा विकास निर्माण कार्यमा अवरोध गर्नेलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन सक्ने बताइएको छ ।

यता प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले विकास निर्माण कार्यमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताउनुभएको छ । राज्य कमजोर बनेर विकास विरोधीको मनोवल बढाउने कार्यमा राज्य नझुक्ने बताउँदै विकास निर्माणको प्रक्रिया सञ्चालन रहेको समेत जानकारी दिए ।

अहिले सबै टावरको निर्माण कार्य सम्पन्न भएको र एउटा टावरको निर्माण कार्यमा अवरोध गर्नेलाई पक्राउ गरिएको र राज्यले नियमन गरेरै भए पनि १० वर्षदेखि निर्माण हुन नसकेको खिम्ती–ढल्केबर २२० केभीको निर्माण कार्य आफू आएदेखि सञ्चालन भएको भन्दै प्रजिअ कार्कीले यस आयोजना निर्माण कार्य सम्पन्न गराएरै छाड्ने दाबी गरे ।

केही स्थानीयवासीले भने जसरी पनि निर्माण कार्य रोक्ने एउटै आफ्नो उद्देश्य रहेको बताउँदै आएको प्रजिअ कार्कीको भनाइ छ ।

केही स्थानीयले भने जग्गा भोगचलनको क्षेत्रफल छुट्याइदिनुपर्ने, निर्माण कार्य रोकी पुनः सर्भे गर्नुपर्ने माग गर्दै बेलाबेलामा अवरोध गर्दै आएका छन् ।

राज्यले दमन गरेर विकास निर्माणको काम गरेको भन्दै विरोध गर्ने केही व्यक्तिलाई यसअघि पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने प्रक्रियामा पुगेपछि पक्राउ परेकाले निर्माण कार्यमा अवरोध नगर्ने प्रतिबद्धता जनाएपछि छाडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप