सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाढीपहिरोले बगायो पक्कीसहित ४ पुल

शनिबार, १८ असार २०७३, २० : ५३
शनिबार, १८ असार २०७३

नुवाकोट–केहि दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोले नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा गरी पक्की पुलसहित ४ वटा पुल बगाएको छ । तुप्चे गाविसस्थित सलाखु खोलामा आएको बाढीले ९२ मिटर लामो पक्की पुल भत्काइदिएको छ भने शुक्रवार राती वर्षासँगै आएको पहिरोले नुवाकोट जिल्लाको किंताङ र धादिङको सत्यदेवी गाविस सिमाना जोड्ने छम्बुखोलामाथिको एक झोलुङगे पुलसहित दुईवटा काठ पुलहरु बगाएको छ । पहिरो र बाढीका कारण दुवै स्थानमा गरी धानबालीसहित ६० रोपनीभन्दा बढी खेतियोग्य फाँट बगाएर बगरमा परिणत भएको छ । सलाखु खोलाको बाढीले बहाव परिवर्तन गर्दा तुप्चे र मनकामना गाविसको सिमानामा सात वर्षअघि निर्मित पुल भत्काएपछि पाँच गाविससँग यातायात सम्पर्क विच्छेद भएको छ । जिल्लाका मनकामना, फिकुरी, काहुले, भाल्चे र साल्मे गाविसका नागरिकहरु गाउँमै थुनिएका छन् । स्थानिय यात्रुहरुलाई आवतजावतमा कठिनाई छ भने दैनिक उपभोग्य वस्तु लगायतका मालसामान ढुवानी ठप्प छ । धान रोपाईंको समयमा बाटो बन्द भएपछि मल, बिउ बिजन र खाद्यान्नजस्ता अत्यावश्यकिय सामानहरु किनमेल गरेर लैजान समस्या भएको छ । पैदल हिँडेर एक दिन लाग्ने साल्मेजस्तो दुर्गम गाउँमा तुप्चेदेखि सामग्री बोकेर गाउँसम्म पु¥याउन सम्भव नभएको बताउँदै किसानहरुले सम्बन्धित निकायसँग जतिसक्दो छिटो पुल बनाउन माग गरेका छन् । ‘खानेकुरादेखि मलबिउसम्म सबै किनेर ल्याउनुपर्ने हुँदा हामीहरु उतै निर्भर छौँ, काहुलेका स्थानिय नन्दराम न्यौपानेले भने, ‘ भूकम्पले भत्किएका घरहरुको पुननिर्माणसम्मका सामानहरु गाडीबाटै ल्याउनुपर्ने हुँदा समस्या थपिएको छ ।’ धादिङ जोड्ने ३ पुल बगायो यसैगरी, पहिरोले नुवाकोटसँग सिमाना जोड्ने धादिङको छम्बुखोलाको झोलुङ्गे पुलसहित २ वटा काठेपुल बगाएपछि नुवाकोट र धादिङका उत्तरी भेगका १० गाविससँग सम्पर्क विच्छेद भएको किम्ताङका स्थानिय शिक्षक विर बहादुर तामाङले जानकारी दिए । ‘तीनवटै पुल खोलाले बगाएको छ, उनले भने, किनमेलका लागि बजार जानआउन, वारी र पारीका किसानलाई खेतिपाती गर्न र विद्यार्थीहरु विद्यालय जानबाट रोकिएका छन् ।’ धादिङ सत्यदेवीका स्थानीयलाई नुवाकोटको त्रिशूली बजारबाट गाडीमा लगिएका खाद्यान्न र निर्माण सामाग्रीहरु धादिङका स्थानीय व्यापारीले किंताङमा झार्थे । धादिङ सत्यदेवीका सुन्दर तामाङले टेलिफोन सम्पर्कमा दिएको जानकारी अनुसार त्यहाँबाट खच्चडमा बोकाएर धादिङका सत्यदेवी, सेर्तुंङ, तिप्लिङ, लिविर, कुरी, बराङ, योदुङ, लापा, दार्खा, तिप्लिङ लैजाने बाटो बन्द भएको हो । ‘धादिङबेसी जाने समयमा त त्रिशूली हुँदै काठमाडौ पुगिसकिन्थ्यो ।’ उनले थपे, ‘पहिरोले सडक र पुल बगाएपछि आवतजावतै बन्द छ ।’ तर, नुवाकोटको किंताङ र धादिङको सत्यदेवी गाविस बीच बग्ने छम्बुखोलामाथि शिरमा पहिरो आउने क्रम अझैँपनि नरोकिएको किम्ताङका स्थानिय अमर तामाङले बताए । धादिङबेसी भन्दा त्रिशूलीबाट किंताङ ल्याइएको सामान खच्चडबाट ल्याउदा सामान सस्तो र ढुवानी भाडा कम हुने गरेको सत्यदेवीका स्थानीयले बताए । धादिङबेसीबाट सामान ल्याउनै दुई दिन लाग्ने उनीहरु बताउँछन् । सत्यदेवीलगायत उत्तरी धादिङका स्थानीय नुवाकोटको किंम्ताङ हुँदै काठमाडौ जाने मुख्य बाटो नै पहिरोले लगेपछि स्थानीयवासी चिन्तित भएका छन् । धादिङ सत्यदेवीबाट नुवाकोट किंताङ, देउराली हुँदै एक सय किलोमिटर हाराहारीमा स्थानीवासी बस यात्राबाट काठमाडौ जाने गरेका थिए । उनीहरुका अनुसार मोटरबाटो र पैदलमार्ग पनि दुवै पहिरोले बगाएको छ । त्रिशूलीदेखि किम्ताङ छुने सडक खण्ड ठाउँठाउँमा वर्षात्का कारण पहिरोले भत्केका छन् । वर्षा रोकिएको छैन, किम्ताङका अमरले भने, यहाँका स्थानीय पनि पैदल विदुरसम्म जानुपर्ने बाध्यता छ । राम्ररी फोन सम्पर्क समेत हुदैन ।’

कुखुरापालक किसान मारमा सलाखुँको पक्कीपुल भत्किएपछि कुखुरा पालक किसान पनि समस्यामा परेका छन् । ‘गाउँमा पालिएका कुखुरा बिक्रीका लागि ठिक्क भएका बेला पुल भत्किएपछि बजारसम्म लैजान सकिएन । कुखुराको दाना पनि किनेर ल्याउन सकिएको छैन,’ स्थानीय छत्र लामाले भने । आवतजावत बन्द भएपछि पाँच गाविसका नागरिकहरुको जनजीबन कष्टकर बन्न थालेको छ । खाद्य सामाग्री ढुवानी गर्न र गाउँमा उत्पादित सामाग्री बजारमा पु¥याउन नसकिएको स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप