सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हावादारी कुरा गरेर नहिँड्न प्रधानमन्त्रीलाई सांसदको सुझाव

आइतबार, १९ असार २०७३, १६ : ३६
आइतबार, १९ असार २०७३
काठमाडौँ - आइतबारको व्यवस्थापिका–संसद्को विशेष समयमा सांसद नारायणप्रकाश साउदले भूकम्पपीडित जनतालाई आवास निर्माणका लागि एकमुष्ट रु एक लाख ५० हजारको वितरण छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । सभामुख ओनसरी घर्तीसँग समय लिई उनले कञ्चनपुर, कैलालीलगायत विभिन्न जिल्लामा ४० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाका समस्या समाधानका लागि छुट्टै आयोग गठन गर्न माग गरे । सांसद गणेशसिंह ठगुन्नाले हालैको वर्षात्ले दार्चुला जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढी गएको हुँदा तत्काल खोज, उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र तामाङले हालै ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न र जनजाति प्रतिष्ठान खारेज नगर्न माग गरे । सांसद कान्ता भट्टराईले योग शिक्षालाई विद्यालयतहदेखिको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए । स्वदेशमा नै रोजगारीको अवस्था सिर्जना गरी युवा वर्गलाई विदेश जानबाट रोक्नुपर्नेमा जोड दिँदै सांसद गीता रानाले यसका लागि सीपमूलक तालिम सञ्चालन आवश्यक भएको बताइन् । सांसद अइन्द्रसुन्दर लिम्बूले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा घटेको घटना जग्गा प्लटिङ गर्ने ठेकेदारको लापरबाहीका कारण भएको देखिएकाले ठेकेदारलाई कारबाही गर्न माग गरे । सांसद अनुराधा थापामगरले निजी मेडिकल शिक्षाको गुणस्तरीयताका बारेमा संसदीय छानबिन समिति गठन गर्न र ख्वःप कलेजलाई विश्वविद्यालयका रुपमा विकसित गर्न माग गरे । सांसद जयदेव जोशीले दार्चुलामा हालै गएको पहिरो र बाढीका कारण तीन जनाको मृत्यु भएको भन्दै उनीहरुलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए । सांसद जनकराज जोशीले सदनमा बोलेका कुराले राष्ट्रिय रुपमा चर्चा नपाएकाले व्यवस्थापिका र कार्यपालिकाबीच दोहोरो संवाद हुनुपर्छ भने । सांसद हरिचरण साहले नीति निर्माण तहमा समानुपातिक र समावेशी सिद्धान्त अपनाउन सरकारको ध्यान जाओस् भने । सांसद जगदीशनरसिंह केसीले प्रधानमन्त्रीले सदनमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिन्छु भनेर बोलेको कुरा कहिले पूरा हुन्छ ? भन्ने प्रश्न गर्दै प्रमलाई हावादारी कुरा गरेर नहिँड्न सुझाव दिए । सांसद नरबहादुर थापाले हालैको वर्षात्ले बागलुङ जिल्लामा घर भत्केर एक जनाको मृत्यु भएको जानकारी गराउँदै ग्रामीण सडक अवरुद्ध भएकाले यातायात सञ्चालन गर्न माग गरे । सांसद उदयशम्शेर राणा र सुशीला नेपालले ललितपुरको गोदावरीस्थित पुष्पाञ्जलि विद्यालयमा भएको घटनाको छानविनका लागि उच्चस्तरीय समिति गठन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप