सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकको थुनछेक आदेश

आइतबार, १९ असार २०७३, २१ : २९
आइतबार, १९ असार २०७३

चितवन -नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्ययन गरेको अभियोगमा यहाँ पक्राउ परेका तीनजना चिकित्सकको थुनछेक आदेश भएको छ ।

सरकारी जागिरे भएकाले दुई जनालाई अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको जिम्मा लगाइएको छ भने एकजना धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत चितवनले दिएको जानकारीअनुसार सुनिल आचार्य र रजनी अग्रवाललाई रु एक/एक लाख धरौटी माग गरिएको छ भने राजन पुरीलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ । आचार्य र अग्रवाल सरकारी जागिरे भएकाले उनीहरुमाथि अख्तियारको अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखिएको हो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार आचार्यसँग रु २७ लाख, अग्रवालसँग रु १४ लाख र पुरीसँग रु तीन लाख ८५ हजार ५०० बिगो दाबी गरिएको छ । आजै पेस भएको सो मुद्दाका प्रतिवादीसँगको बयान समाप्त गरी आजै साँझ ७ :३० बजे मुद्दाको थुनछेक आदेश भएको हो ।

मुद्दाको थुनछेक आजै सक्नका लागि तीनजना न्यायाधीशको इजलाशमा मुद्दा बाँडफाँड गरिएको थियो ।

पक्राउ परेका तीनै जनालाई सरकारवादी ठगी मुद्दा बमोजिम पाँच वर्षसम्म कैद, बिगो र बिगो बमोजिमको जरिवानासम्मको कारबाही हुनसक्ने व्यवस्था छ ।

उनीहरुलाई गत असार ३ गते जिल्लाबाटै पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप