सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देवघाटमा शव दाहा गर्न कठिन

सोमबार, २० असार २०७३, १० : १०
सोमबार, २० असार २०७३
चितवन - देशका विभिन्न क्षेत्रबाट अन्त्येष्टिका लागि शव ल्याइने पवित्र तीर्थस्थल देवघाटमा व्यवस्थित शव दाहा स्थल नहुँदा अन्त्येष्टि गर्न कठिन हुने गरेको छ । कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलको दक्षिणपट्टि अधिकांश शव दाहा गरिन्छ । कतिपयले कालीगण्डकीमा अन्त्येष्टिका लागि शव लैजाने गर्दछन् । हिउँदको समयमा नदी घटेर बगरमा शव दाहा गर्ने भए पनि वर्षात्को समयमा नदीको बहाव बढेर दुवैपट्टिका पाखोसम्म पुगेपछि शव दाहाका लागि कठिन हुने गरेको छ । देवघाट दाहासंस्कार व्यवस्थापन समितिका सदस्य जगन्नाथ पोखरेलका अनुसार एक दिनमा १५ वटासम्म शव दाहाका लागि देवघाट ल्याइने गर्दछ । प्रमुख रुपमा चितवन, नवलपरासी तनहुँ, धादिङ हुँदै पूर्वमा जनकपुर, पश्चिममा सूर्खेतसम्म र काठमाडौँबाट शव अन्त्येष्टिका लागि ल्याइने गरेको पोखरेलले बताए । अठार वर्षदेखि सोही स्थानमा दाहसंस्कारका लागि आवश्यक पर्ने सामग्रीको व्यापार गर्दै आएका पोखरेलले वर्षात्मा दाउरा चिसो हुने र शव राखेर दाह गर्न समेत ठाउँ नहुने समस्याले गर्दा असहज हुने गरेको बताए । शव लिएर आउनेले पनि ठूलो महिमा बोकेको क्षेत्रमा शव दाहास्थल नहुनु दुःखद् भएको बताउने गरेका छन् । बुटवलबाट पत्रकार बाबुराम भट्टराईको शव लिएर अन्त्येष्टिका लागि देवघाट आएका राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले ठूलो महिमा बोकेको पवित्र भूमि देवघाटमा अन्त्येष्टि गर्न धेरैको इच्छा हुने हुँदा शव दाहस्थल व्यवस्थित बनाउनु पर्ने बताए । सरकारले बृहत् गुरुयोजना बनाएर देवघाटको धार्मिक र पर्यटकीय प्रवद्र्धनका लागि समेत काम गर्नुपर्ने उनको सुझाव छ । धेरै शव आउने हुँदा विद्युतीय शव दाहा निर्माण गर्नुपर्ने उनले सुझाए । देवघाट सप्तगण्डकी विकास तथा वातावरण संरक्षण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले वर्षात्मा शव दाहा निकै कठिन हुने गरेको भन्दै संस्कृति मन्त्रालयसँग विद्युतीय शव दाहा उपकरणका लागि आग्रह गरिएको बताए । सो क्षेत्र दुवैतर्फ डाँडाको खोचमा पर्दछ । गर्मी समयमा नदी किनारका बालुवा तात्ने र अत्यधिक गर्मी हुने हुँदा मलामीलाई समस्या हुने गरेको छ । नदीको छेउमा यसअघि निर्माण प्रारम्भ गरिएको शव दाहास्थल नदीले बगाइसकेको छ भने सिढी निर्माणका लागि काम थालेको भए पनि अगाडि बढ्न नसकेको पौडेलले बताए । शव दाहाका लागि चितवन, मकवानपुर र नवलपरासीबाट दाउरा ल्याइने गरेको छ । एउटा शव दाहाका लागि रु तीन हजारको दाउरा खर्च हुन्छ भने सरसफाइ शुल्क रु ३०० तिर्नुपर्ने हुन्छ । नदी निकै बढेको बेला शव राखेर दाहा गर्न समेत मुस्किल हुने गरेको छ । यतिबेला नदी बढ्दै गएकाले छेउका पाखामा कष्टपूर्ण ढङ्गले शव दाहा गर्नुपर्ने बाध्यता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप