सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनुदान रकम वास्तविक किसानको हातमा पु¥याउन उपराष्ट्रपति पुनको निर्देशन

सोमबार, २० असार २०७३, १७ : १२
सोमबार, २० असार २०७३

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन् ।

प्रथम युवा कृषि उद्यम सम्मेलनको आज ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए ।

दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले जमिनको खण्डीकरण रोक्न, बाँझो जमिनको उपयोगिता, कृषिमैत्री वातावरण, कृषिमा सहुलियत ऋण र युवालाई कृषिमा आकर्षित गर्न सरकारलाई निर्देशन दिए । उनले कृषि क्षेत्रको नेतृत्व युवा वर्गले लिनुपर्ने बताउँदै कृषि लगानीमा वृद्धि गर्नुपर्ने, उन्नत जातको मल बीउबिजन र अनुदान रकम वास्तविक किसानको हातमा पु¥याउनुपर्ने बताए ।

युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न ५० जिल्लाका १६० युवाको सहभागिता छ । कार्यक्रममा कृषि विज्ञले आ–आफ्नो क्षेत्रको कार्यपत्र पेस गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले कृषिमा आश्वासन नभई प्रतिबद्धताको खाँचो औंल्याउँदै युवाको आकर्षणबिना कृषिको दिगो विकास असम्भव प्रायःरहेको बताए ।

उनले दिगो कृषि विकास हासिल गर्न सरकारले किसानलाई निवृत्तिभरण, बाँझो जमिनको उपयोगिता र कृषिलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको जानकारी दिए । कृषिमन्त्री गजुरेलले छिट्टै फलफूल दशक घोषण गर्ने नीति सरकारको भएको बताउँदै जमिन बाँझो राख्नेलाई बाँझो नराख्न र अरुलाई खेती गर्न दिन आग्रह गर्ने, त्यसपछि पनि नमाने सरकारले उत्पादनको १० प्रतिशत नाफा दिई जग्गा सरकारले टेन्डरमार्फत खेती गर्न इच्छुक व्यक्तिलाई दिने बताए ।

कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३४ प्रतिशत योगदान छ । राष्ट्रिय कृषि गणना–२०६८ ले १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको तथ्याङ्कमा उल्लेख छ भने एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत यार्क मायोरले नेपालको कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै कामप्रतिको प्रतिबद्धता हासिल गर्न युवा वर्गमा सीप र जाँगरको आवश्यकता रहेको बताए । उनले नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायली सरकारले सक्दो सहयोग गर्ने बताउँदै इजरायलबाट फर्किआएका युवाले नेपाली कृषिमा गोलबद्ध हुनुपर्ने बताए ।

फोरएच नामको गैरसरकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष लोकराज अवस्थीले कृषि क्षेत्रमा किसानको आकर्षणलाई प्रविधिमार्फत फैलाउने उद्देश्यबाट कार्यक्रमको आयोजना गरिएको बताए । गाउँघरमा अझै पनि छोराछोरीले पढेनन् भने हलो जोत्नुपर्ला है भन्ने उखान कायम छ । सो उखानलाई अवास्तविक पार्न कार्यक्रम सफल हुने आयोजकले विश्वास गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप