सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्राथमिक उपचार सिक्दै डोटीका शिक्षक

मङ्गलबार, २१ असार २०७३, १२ : २६
मङ्गलबार, २१ असार २०७३

डोटी – विद्यालयमा आइपर्ने स्वास्थ्यसँग सम्बन्धित सामान्य समस्यालाई मध्यनजर गर्दै डोटीका शिक्षक प्राथमिक उपचार पद्धति सिक्नतर्फ आकर्षित बनेका छन् ।

डोटीको ग्रामीण भेगमा पर्ने अधिकांश विद्यालय स्वास्थ्य संस्थाबाट टाढा रहेका कारणसमेत प्राथमिक स्वास्थ्योपचार पद्धति सिक्न आवश्यक रहेको दौड गाविसमा रहेको जनता जनार्दन उच्च माध्यामिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद जोशीले बताए ।

शिक्षकको काम पढाउने हो, तर आवश्यक परेमा सबै कुरालाई ध्यान दिनुपर्दो रहेछ, जोशीले भने  । सामान्यरुपमा विद्यालयमा कुनै विद्यार्थी, शिक्षकलाई स्वास्थ्य समस्या हुँदा वा दुर्घटनामा पर्दा हेन्डिप्लास्ट लगाउनु पर्ने, रगत बग्न नदिन कुनै उपाय अपनाउनु पर्ने भन्ने हामी सबैलाई जानकारी भएको तर प्राथमिक उपचारका चरणबारे अझै बढी ज्ञान भएमा सहज हुने जोशीको भनाइ छ ।

पचासवटा गाविस र एक वटा नगरपालिका रहेको डोटी जिल्ला भौगालिक विकटता भएको क्षेत्र हो । यहाँका अधिकांश मानिस आवश्यक आधारभूत पूर्वाधार नहुँदा कैलालीलगायत जिल्लाका अन्य क्षेत्रमा बसाइँ सर्ने गरेका छन् भने बाँकी ग्रामीण भेगमा बस्न बाँध्य बनेका छन् ।

स्वास्थ्य पहुँच कम भएको क्षेत्रमा विद्यालयमा प्राथमिक उपचारको महत्व धेरै हुने भारतोली मावि बगलेकका प्रधानाध्यापक गणेश कुँवरले बताए । कुँवरका अनुसार सानो उपचारले अकालमै गुम्न लागेको ज्यान जोगाउन सकिँदो रहेछ, त्यसैले पनि यसलाई हामीले शिक्षकको धर्म समेत मानेका छौँ ।

विद्यालयमा आउने समस्यामध्ये बढीजसो स्वास्थ्य समस्या हुने भएकाले प्राथमिक उपचारको धेरै महत्व रहेको ओम निमावी दौडकी शिक्षिका विमला उपाध्यायले बताए । उनका अनुसार धेरै विद्यार्थी हुने गरेका कारण दिनहुँ स्वास्थ्यका धेरै समस्या आउने गर्दछन्, जहाँ प्राथमिक उपचारको खाँचो छ ।

प्राथमिक उपचार पद्धति सिक्नका लागि जिल्लाका १० वटा विद्यालयका २० जना शिक्षक शिक्षिका रहेका थिए । युरोपियन युनियनको सहयोगमा वल्र्ड भिजन इन्टरनेसनल र सामुदायिक विकास केन्द्रको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप