सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मध्य पहाडको यात्रा जोखिमपूर्ण

मङ्गलबार, २१ असार २०७३, १२ : ४०
मङ्गलबार, २१ असार २०७३

बागलुङ – वर्षायामसँगै मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्डको यात्रा कष्टकर बनेको छ ।

लगातारको वर्षाले दैनिकजसो सडकमा खस्ने साना ठूला पहिराले यातायात सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ । सदरमुकामदेखि बुर्तिवाङ चल्ने सिधा यातायात बेला बेलामा अवरुद्ध हुने गरेको छ । यस वर्ष गरिएको राजमार्गको विस्तारले सडक थप बिग्रिएको हो ।

जोखिम मोलेर सवारी चलाउनुपरेको बागलुङ–बुर्तिवाङ खण्डका जिप चालक सन्दीप विकले बताए । “वर्षायाममा सवारी चलाउन धेरै गाह्रो छ, रातभरि परेको पानीले कहाँ पहिरो खस्छ भनेर डराई डराई हिँड्नुपर्ने अवस्था छ”, विकले भने । राजमार्गको बागलुङ खण्डमा २० किमी सडक मात्र कालोपत्रे छ । बाँकी एक सय २५ किमी सडक कच्ची छ । कच्ची सडक विस्तारले वर्षा हुनासाथ पहिरो खस्ने र सडक हिलाम्मे हुने समस्या बढेको छ ।

कतिपय ठाउँमा पुल नहुँदा पनि खोलामा पानीको सतह बढेपछि यातायात रोकिने गरेको छ । ग्वालिचौरस्थित न्वारा खोला बढ्नासाथ सिधा यातायात अवरुद्ध हुने गरेको धवलागिरि अञ्चल जिप व्यवसायी समितिले जनाएको छ । यसै साता मात्र पटक पटक सडक अवरुद्ध भएको छ । सदरमुकाम बाहेक जिल्लाका अन्य व्यापारिक क्षेत्रबाट छोटो तथा लामो दूरीमा छुट्ने यातायातका साधनले पनि नियमित सेवा दिन नसकेको समितिको भनाइ छ ।

बागलुङ–बुर्तिवाङ खण्डका अन्य खोलामा भने पुल बनिसकेका छन् । पुल नभएकै कारण वर्षायाममा सिधा यातायात सञ्चालन हुन नसकेको समितिका अध्यक्ष शशिकपुर श्रेष्ठले बताए । “वर्षा नसकिँदासम्म यो समस्या रहिरहन्छ, जोखिम उठाएर यात्रा गर्नुपर्ने बाध्यता छ”, अध्यक्ष श्रेष्ठले भने। अवरुद्ध सडकलाई स्थानीय प्रशासनसँग मिलेर समितिको अगुवाइमा खोल्ने गरिएको उनको भनाइ छ ।

वर्षायाममा जिल्लाभरको यातायात सेवा प्रभावित हुने गरेको अध्यक्ष श्रेष्ठले बताए। “ग्रामीण सडक त झन स्तरीय छैनन्, हिउँदमै जीर्ण अवस्थामा पुगेका सडक सवारी हिँडाउन नसकिने गरी बिग्रेका छन्”, उनले भने । मुख्य सडक बाहेकका ग्रामीण भेगका सडक पनि वर्षायाममा बिग्रने गरेका छन् । सवारी चालक, यात्रु स्वयम्ले सडक मर्मत, सफा गर्दै यात्रा गर्नुपर्ने अवस्था रहेको छ । कतिपय ठाउँमा त वर्षायाममा सडक पूरै बन्द हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप