सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बृहस्पति ग्रहको कक्षमा मानवनिर्मित भूउपग्रह

मङ्गलबार, २१ असार २०७३, १३ : ०७
मङ्गलबार, २१ असार २०७३

क्यालिफोर्निया — अमेरिकी स्पेस एजेन्सी नासाले बृहस्पति ग्रहको कक्षमा सफलतापूर्वक भूउपग्रह पठाएको छ । पाँच वर्षअघि पृथ्वीबाट बृहस्पति ग्रहका लागि पठाइएको उक्त भूउपग्रह आज आफ्नो लक्ष्यमा पुगेको हो ।

जुनो नाम गरेको भूउपग्रहले सफलतापूर्वक कक्षमा रहेर रेडियो सन्देश पठाएपछि क्लालिफोर्निया नासाको मिसन कन्ट्रोल रुममा खुसियाली छाएको थियो ।

वैज्ञानिकहरुले भूउपग्रहको मद्दतले बृहस्पति ग्रहको भित्री भागको अध्ययन गर्ने सोच बनाएका छन् । यसरी साढे चार अर्ब वर्ष अघि बनेको ग्रहको बारेमा जानकारी पाउने उनीहरुले आशा गरेका छन् ।

यसअघि कुनै पनि मानव निर्मित भूउपग्रह बृहस्पतिको नजिक पुगेको थिएन । ग्रहमा रहेको रेडिएसनले सामान्य भूउपग्रहलाई निस्प्रभावी पारिदिने गर्छ । तर, जुनो भने ट्यांक जसरी निर्माण गरिएको छ । यसमा टाइटेनियमको कभर राखिएको बिबिसीले उल्लेख गरेको छ ।

यद्यपि, जुनोमाथि बृहस्पतिको रेडिएसनको खतरा भने अझै टलेको छैन । जुपिटरको वायुमण्डलमा रहेको बाक्लो बाँदलको तल के भनेर जाँच्ने यन्त्र यसले तयार गर्नुपर्नेछ ।

ग्रहको एक चक्कर लगाउन जुनोलाई ५३ दिन लाग्नेछ । मध्य अक्टोबरदेखि यो ग्रहको अझ नजिक पुग्ने बताइएको छ । यसमा रहेको आठवटा सेन्सर यन्त्र र क्यामेराले ग्रहको बायुमण्डलको विभिन्न तहको बारेमा अध्ययन गर्नेछ ।

त्यहाँ अक्सिजनको मात्रा कति छ भन्ने विषय वैज्ञानिकहरुले मुख्य प्राथमिकतामा राखेका छन् ।

त्यस्तै, बृहस्पतिमा ठोस तह छ वा सबै ग्यासमात्र हो भन्ने धेरै पहिलेदेखिको विवादको पनि अन्त्य हुने वैज्ञानिकहरुले अपेक्षा गरेका छन् ।

बृहस्पतिबारे केही तथ्य

- बृहस्पति पृथ्वीभन्दा ११ गुण चौढा र ३०० गुणा ठूलो छ ।

- यसलाई सूर्यको एक चक्कर लगाउन १२ वर्ष लाग्छ भने यसको दिन १० घण्टा मात्र लामो हुन्छ ।

- यसको बनौट एउटा ताराको जस्तो छ । यो धेरैजसो हाइड्रोजन र हिलियमले बनेको छ ।

- यस ग्रहमा देखिने धर्काहरु त्यहाँ चल्ने पूर्व पश्चिम हावाले बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप