सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सशांक कोइरालाको अवस्था ‘गम्भीर’, उपचारमा १५ जना डाक्टरको टीम सक्रिय

बुधबार, २२ असार २०७३, १२ : १७
बुधबार, २२ असार २०७३

काठमाडौं– कांग्रेस महामन्त्री सशांक कोइरालाको अवस्था अन्यन्तै नाजुक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । राजधानीको चाबहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कोइरालाको अवस्था अत्यन्त नाजुक रहेको अस्पतालका प्रवन्ध निर्देशक हरि किशोर श्रेष्ठले जानकारी दिए । उनले कोइरालालाई ‘एड्भान्स लाइफ सपोर्ट’ राखिएको समेत जानकारी दिए ।

मंगलबार राती निवासमै पिजा खानेवित्तिकै एकाएक बमिट गर्न पुगेका उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राती नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो । रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए । कांग्रेस नेता प्रकाशमान सिंहका अनुसार मंगलबार राती नै कोइरालालाई अस्पताल लगिएको भएपनि परिवारले आफूहरुलाई बिहान सबेरैमात्रै खबर गरेको बताए । रातभर अवस्था सामान्य भएकाले खबर नगरिएको तर बिहान एकाएक अवस्था गम्भीर बनेपछि खबर गरिएको उनको भनाई छ । परिवारले नेताहरुलाई खबर गरेसँगै बिहान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र , रामशरण महतलगायतका नेता तथा कार्यकर्ता उनको अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए । कोइरालाको उपचारमा १५ जना डाक्टरको टीम अस्पतालले उनको उपचारमा १५ जना डाक्टरको टीम सक्रियतापूर्वक लागिरहेको जनाएको छ । कोइरालाको उपचारमा सक्रिय चिकित्सकहरुमा राहुल पाठक, लब जोशी, भगवान कोइराला, अर्जुन कार्कीलगायत रहेका छन् । चिकित्सकहरुले पछिल्लो समय उनको रक्तचाप ९०–६० रहेको र छात्तीको एक्सरेमा देब्रे फोक्सोमा निमोनिया रहेको बताएका छन् ।

अस्पतालको विज्ञप्तीमा के छ ? यसैबीच उनलाई भेन्टिलेटरमा राखिएसँगै अस्पतालले स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । बिहान अस्पतालले जारी गरेको विज्ञप्तिमा ५८ वर्षीय कोइराला पेटमा असहजता, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘त्यतिबेला उनको रक्तचाप ११०–७० रहेको थियो । बुधबार बिहान ५ बजेर ३० मिनेट जाँदा उनलाई छटपटाहट महसुस भएको र रक्तचाप ६०–४० मा पुगेको थियो । उनलाई बान्ता समेत भएको थियो । त्यसपछि तत्कालै उनलाई सिपिआर दिएर मेकानिकल भेन्टिलेटरमा राखिएको थियो । ’ उनको स्वास्थ्य स्थिति गम्भिर तर स्थिर रहेको अस्पतालको पछिल्लो विज्ञप्तिमा जनाइएको छ । तत्काल विदेश लैजान असम्भव चिकित्सकहरुले उनको अवस्था अत्यन्त नाजुक भएकाले अहिलेनै उपचारको लागि विदेश लैजान सकिने अवस्था छैन । बिहान अस्पताल पुगेका कांग्रेस नेताहरुले विदेश लैजाने बारे चिकित्सकहरुसँग परामर्श गर्न क्रममा यस्तो जानकारी गराइएको हो । अहिले होस् समेत खुल्न नसकेको अवस्थामा विदेश लैजान सम्भव हुँदैन, तर सुधार भएपछि आवश्यक परेको खण्डमा विदेश लैजान सकिने चिकित्सकहरुको भनाई छ ।

प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन यसैबीच बिहानै कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । सो क्रममा उपचारको लागि सबै खालको उपाय अबलम्बन गर्नका लागि प्रधानमन्त्रीले चिकित्सकहरुलाई निर्देशन दिए । यस्तै उपचारको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप