सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद् बैठकको शून्य समयः कसले के भने ?

बुधबार, २२ असार २०७३, १२ : ५८
बुधबार, २२ असार २०७३

काठमाडौं – व्यवस्थापिका संसद्को आजको बैठकको शून्य समयमा सांसदले मुलुकका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीका कारण आसपासका मानिस प्रभावित भएकोगोरखा, प्यूठानका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । उहाँहरुले बाँकेको सिक्टा सिंचाइ नहर भत्किँएको घटनाको छानबिन गर्न पनि माग गरे ।

तत्पश्चात सभामुख ओनसरी घर्ती मगरले जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सांसदहरुले उठाउँदै आएको सन्दर्भमा सदनमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् ।

केही सांसदले तराई–मधेस केन्द्रित दललाई अनशन छाडेर संसद्मै सङ्घर्ष गर्न र वार्तामा आउन आग्रह गरे भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदीय जिम्मेवारी पूरा नसक्ने बताए ।

केही सांसदले विदेश जाने मन्त्रीले आफूखसी मान्छे लगेको, सांसदहरु पनि त्यस्तोमा मुछिएको बारे छानबिन हुनुपर्ने माग गरे । सांसदहरु अतृमतकुमार बोहरा, मोहनबहादुर बस्नेत, कृष्ण धिताल, परशुराम तामाङ, कमला विश्वकर्मा, डिल्लीप्रसाद काफ्ले, दुर्गा पौडेल, हरिचरण साह, चीनकाजी श्रेष्ठ, प्रकाश ज्वाला, बुँदराम थापा, रामहरि खतिवडा, कृष्णभक्त पोखरेलले शून्य समयमा भाग लिए । बैठकमा अहिले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम प्रारम्भ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप