सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा र राप्रपा नेपालको विद्रोही पार्टी एकीकरणको प्रयासमा

बुधबार, २२ असार २०७३, १५ : ०९
बुधबार, २२ असार २०७३

काठमाडौं –राप्रपा र राप्रपा नेपालबाट बिद्रोह गरेर बनेको राप्रपा नेपाल समानान्तर बीच एकता प्रयास चलिरहेको छ। समानान्तरभित्रकै पनि केहि व्यक्ति एकीकृत राप्रपा नेपाल निर्माण गर्ने भन्दै कमल थापाको निलम्बनमा परेका केशरबहादुर विष्ट समुहमा सामेल भएको अवस्थामा बाँकी रहेका समानान्तरका नेताहरु र राप्रपाबीच एकताको प्रयास भएको हो ।

यसैसन्दर्भमा दुई पार्टीका वार्ता टोलीबीच मंगलबार पार्टी एकीकरणको विषयमा छलफल भएको छ । राप्रपाको केन्द्रीय कार्यालयमा सम्पन्न वार्ताको क्रममा सैद्धान्तिक लगायत सांगठानिक एवं प्राविधिक विषयमा छलफल भएको, वार्तामा संलग्न पार्टी प्रतिनिधिहरुले बताएका छन् ।

एकीकृत पार्टीको सांगठानिक संरचना, महाधिवेशन, सहभागिता एवं प्रतिनिधित्वको विषयमा छलफलले प्रवेश गरेको छ । वार्ताको क्रममा उठेका सवालबारे दुबै पार्टीका नेतृत्वलाई अवगत गराउने सहमति भएको छ । जस अनुसार, राप्रपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्द तथा राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष सत्यमान लामालाई वार्ता टोलीले संयुक्त रुपमा जानकारी गराउने तय भएको छ ।

‘एकीकरण प्रक्रियालाई सकारात्मक निष्कर्षमा लान गृहकार्य सुचारु छ । पार्टी एकीकरणसँग सम्बन्धित बृहत विषयहरुमा छलफल भइरहेको छ । वार्ता सकारात्मक रुपमा अघि बढीरहेको छ,’ राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले एकता वार्ताको उपलब्धि बारे जानकारी गराउदै भने ।

सबै राष्ट्रवादी, परम्परागत शक्ति बीचको बृहत एकता समयको माग भएको स्वीकार गर्दै प्रवक्ता लावतीले अर्को एक प्रसंगमा एकीकृत राप्रपा निर्माण अभियानसँग भने एकीकरण गर्ने, नगर्ने बारे राप्रपा नेपाल समानान्तरले कुनै औपचारिक निर्णय गरीनसकेको बताए ।

आइतबार काठमाडौंमा सम्पन्न पत्रकार सम्मलेनमा भने ‘राप्रपा नेपाल समानान्तरका साथीहरुको सहभागिताद्वारा’ एकीकृत राप्रपा निर्माण अभियानमा नयाँ आयामको आरम्भ भएको राप्रपा नेपालका निलम्बित सह–अध्यक्ष, अभियन्ता केशर बहादुर विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको थियो ।

यसबारे जिज्ञासा राख्दा लावतीले, उक्त पत्रकार सम्मेलन राप्रपा नेपाल समानान्तरको संस्थागत जानकारीमा सम्पन्न नभएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप