सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शशांकको स्वास्थ्यमा सुधारः होस खुल्यो

बुधबार, २२ असार २०७३, १९ : ५६
बुधबार, २२ असार २०७३

काठमाडौं– ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा सामान्य सुधार आएको छ । अस्पतालले बुधबार साँझ ७ बजे पत्रकार सम्मेलनको आयोजना गरी उनको अवस्थामा निकै सुधार आएको जानकारी दिएको हो  । यसअघि अस्पतालले अपरान्ह पत्रकार सम्मेलन गरी कोइरालाको अवस्था थप गम्भीर रहेको बताएको थियो ।  पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा लव जोशीले कोइराला बिस्तारै होसमा आउन थालेको जानकारी दिए ।

उनले भने ‘अचेत हुनु भएको उहाँले केहीबेर अघि मात्र आँखा खोल्नुभयो र हामीले बोलाउँदा सुनेको संकेत गर्नु भएको छ । यो सकारात्मक संकेत हो ।’

उनले दिगामी हालतमा सुधार आएको भन्दै पिसाव पनि पर्याप्त रुपमा भइरहेको जानकारी दिए ।  उनले २४ घण्टासम्म यसै केहि भन्न नसकिने तर, यही अवस्था कायमै राख्न सकेको खण्डमा भोलिदेखि थप सुखद खबर आउने निश्चित रहेको बताए । उनले चिकित्सकहरुले निरन्तरको प्रयासले स्थिर अवस्थामा राख्न सकिएको तर अहिले पनि भेन्टिलेटरमै राखिएको र हाइडोजको औषधी चलाइएको जानकारी दिए । अस्पतालले उनको पछिल्लो रिपोर्टमा ब्लड प्रेसर १२०–५० , मुटुको चाल ९२ प्रतिमिनेट रहेको जनाएको छ भने बिहानदेखि तीन लिटर पिसाव भएको जनाएको छ । तर मुटु र मृगौलामा समेत असर कायमै रहेको र त्यसलाई पनि सामान्य अवस्थामा फर्काउने प्रयास जारी रहेको जनाएको छ ।

मंगलबार राती स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो । राती नै ओममा भर्ना भएका उनको स्वास्थ्य अवस्था भने बुधबार बिहान ४ बजेपछि नाजुक बन्न पुगेको थियो ।

रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । लगत्तै अचेत बनेका उनलाई चिकित्सकहरुले भेन्टिलेटरमा सारेका थिए । पत्रकार सम्मेलनमा अस्पतालले यहि अवस्थामा विदेश लैजान सम्भव नरहेको बताएको छ । तर भोलिसम्ममा थप सुधार आए र यहाँ सम्भव नभए अवस्था हेरेर लैजान सकिने भन्दै प्रवक्ता जोशीले त्यसका लागि भारतको दिल्लीस्थित अपोलो अस्पतालका चिकित्सकहरुसँग आफूहरु निरन्तर सम्पर्कमा रहेको बताए ।

‘विहानदेखि अहिलेसम्म स्वास्थयमा सुधार केहि सुधार भएको हो । तर बाहिर लाने विषयमा अझैं सोच्न सकिन्न, त्यसरी लैजान अहिलेकै अवस्थामा निकै चुनौतिपूर्ण छ । पठाउने भन्दैमा हाम्रो जिम्मेवारीबाट पन्छेर पठाइहाल्न मिल्दैन’, उनले भने, ‘ परिवारले पनि अहिले नलैजाने कुरा गर्नु भएको छ ।’

कोइरालाको उपचारमा राधानीका  विभिन्न अस्पतालमा कार्यरत  १५ बढी डाक्टरहरु सक्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप