सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलमाथि रोनाल्डो हाबी : वेल्सको स्वपनिल यात्राको अन्त्य गर्दै पोर्चुगल फाइनलमा

बिहीबार, २३ असार २०७३, ०३ : ३०
बिहीबार, २३ असार २०७३

लियोन – वेल्सको अविस्मरणीय यात्रामाथि पूर्णविराम लगाउँदै पोर्चुगल युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगल २–० ले विजयी बन्दै सन् २००४ पछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगललाई जीत दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने । आजको खेलअघि निकै दबाबमा रहेका रोनाल्डोले आफ्नो ट्रेडमार्क हेडरमार्फत पोर्चुगललाई खेलको ५० औं मिनेटमा अग्रता दिलाए । त्यसको तीन मिनेट पछि उनैको प्रहारलाई नानीले गोलको दिशा दिँदै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेका रोनाल्डो निकै आलोचित बनिरहेका थिए ।

गोलसँगै रोनाल्डोले युरोपियन च्याम्पियनसीपमा सर्वाधिक गोल गर्ने किर्तिमान बाराबरीमा गरेका छन् । फ्रान्सका मिसेल प्लाटिनीले प्रतियोगितामा ९ गोल गर्दै राखेको किर्तिमान रोनाल्डोले बराबरी गरे । प्लाटिनीले उक्त किर्तिमान एकै प्रतियोगितामा राखेका हुन् भने रोनाल्डोले चार पटक भाग लिँदै उक्त किर्तिमान बराबरी गर्न सफल भए । जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो ।

खेलको अन्तय तिर ड्यानिलो र रोनाल्डोले पोर्चुगलको अग्रता अझ बढाउने सुन्दर अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

प्रतिबन्धका कारण प्रभावशाली खेलाडी आरोन रामसे र बेन डेभिस बिना नै मैदानमा उत्रेको वेल्स पोर्चुगलविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि गोलका धेरै अवसर भने सृजना गर्न सकेन । उता, पोर्चुगलले पनि घाइते पेपेलाई गुमाएको थियो ।

बेल भर्सेस रोनाल्डो

आजको खेलअघि सबैतिर पोर्चुगल र वेल्सको भिडन्त भन्दा पनि विश्वका दुई सफल खेलाडी रोनाल्डो र गेराथ बेलको चर्चा थियो । एउटै क्लबमा भएर पनि एकअर्काको प्रतिस्पर्धीका रुपमा हेरिने यी दुई सुपरस्टारमध्ये को खेलमा चम्कने छन् भन्ने सर्वत्र चर्चा थियो ।

प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका बेल आजको खेलमा हाबी हुने अनुमान धेरैले गरेका थिए । तर, ३ पटकका फिफा वर्ष खेलाडी रोनाल्डोले एक पटक फेरि बेललाई ओझेलमा पारेका छन् ।

खेलमा बेलले पोर्चुगलको पोष्टमा तीन वटा लामो दुरीबाट उत्कृष्ट प्रहारहरु गरेका थिए । तर, तीनवटै प्रहारलाई गोलकिपर रुइ प्याट्रिसियोले बचाएका थिए । उनले बेलाबेला पोर्चुगलको डिफेन्सलाई चुनौती दिए पनि गोल गर्न भने सकेनन् । पहिलो पटक सेमिफाइनलमा पुगेको वेल्सको यात्रा यतिमै सिमित बन्यो ।

यता, आजको खेलमा रोनाल्डो नै निर्णायक बने र पोर्चुगललाई उपाधिबाट मात्र एक खेल टाढा पुर्याए ।

खेल सकिएपछि रोनाल्डोले आफ्ना सहकर्मीहरुसँग खुसायिली मनाउनअघि बेलकहाँ पुगेर सान्तवना दिएका थिए ।

यसअघि निर्धारित ९० मिनेटमा कुनै पनि खेल जित्न नसकी पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । समूह चरणमा खेलमा सबै बराबरी गर्दै तेस्रो बनेर अन्तिम १६ मा प्रवेश पाएको थियो । त्यहाँ क्रोएसियालाई अतिरिक्त समय र क्वाटरफाइनलमा पोल्याण्डलाई पेनाल्टी सुटआउटमा पोर्चुगलले पराजित गरेको थियो ।

अब पेरिसमा हुने फाइनलमा पोर्चुगलले आयोजक फ्रान्स र जमर्नीबीचको बिजेतासँग भिड्नेछ । पछिल्लो पटक सन् २००४ को फाइनलमा पुगेको पोर्चुगल ग्रीससँग स्तब्ध बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप