सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सशांकको स्वास्थ्यमा थप सुधार, विदेश लैजानु पर्दैनः अस्पताल

बिहीबार, २३ असार २०७३, ०९ : ५७
बिहीबार, २३ असार २०७३

काठमाडौं – कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा थप सुधार देखिएको छ । कोइरालाको अवस्थाबारे जानकारी दिन बिहिबार बिहान अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा लव जोशीले स्वास्थ्यमा थप सुधार आएको जानकारी दिए ।

उनले अहिलेकै अवस्था कायम राख्न सकिए अब आशा गर्न सकिने ठाउँ रहेको भन्दै तर भेन्टिलेटरमै रहेकाले खतरामुक्त भने भन्न नमिल्ने बताए ।

पत्रकार सम्मेलनमा उनले ओम अस्पतालमै उपचार सम्भव रहेको भन्दै परिवारले पनि विदेश लैजाने विषयमा कुरा नगरेको बताए । ‘हामीले गरिरहेका छौं, अहिले परिवारले पनि विदेश लैजाने कुरा गर्नु भएको छैन, हामीलाई अहिले काम गर्न दिनुस्,’ पत्रकार सम्मेलनमा उनले भने ।

विदेश लैजानै परेको खण्डमा भने आवश्यक परामर्श गरेर लगिने तर त्यसका लागि पनि अवस्थामा थप सुधार आउन जरुरी रहेको उनको भनाई छ ।

कोइरालाले पछिल्लो समय मान्छेसमेत चिन्न थालेको र ताजा रिपोर्टमा ब्लड प्रेसर १२०–५० , मुटुको चाल ९२ प्रतिमिनेट हुनुका साथै पिसाव पनि हुनुपर्ने जति भइरहेको अस्पतालले जनाएको छ । यस्तै मुटु र मृगौलामा देखिएको समस्यामा पनि क्रमिक रुपमा सुधार भइरहेको छ ।

यसअघि बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा पनि अस्पतालले उनको स्वास्थ्यमा सुधार देखिएको जनाएको थियो ।

मंगलबार राती महाराजगञ्जस्थित निवासमै रहेको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले ओम अस्पताल लगेको थियो भने बुधबार बिहान अवस्था नाजुक बनेपछि भेन्टिलेटरमा सारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप