सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राजधानीमा ‘भरिया’ जिन्दगी जिउनेको कथा-व्यथा

बिहीबार, २३ असार २०७३, १३ : १९
बिहीबार, २३ असार २०७३

काठमाडौँ – दोलखाका चन्द्रबहादुर बुढाथोकीले पुतली सडकमा भरियाका रूपमा काम गर्न सुरु गरेको ४५ वर्ष भयो ।

यो ४५ वर्षको अवधिमा पुतलीसडक फेरियो तर, ६५ वर्षीय बुढाथोकीको जीवनशैली फेरिएन । “पहिले पहिले त दिनकै रु एक हजारदेखि रु एक हजार ५०० कमाइ हुन्थ्यो, तर आजभोलि त दिनमा रु दुई÷तीन सयभन्दा हुँदैन, दैनिकी चलाउनसमेत धौ धौ परेको छ” – उनले गुनासो गरे । गाडीबाट सामान लोड अनलोड गर्ने, गोदाममा दाल, चामल, आलु, प्याज, लसुनलगायत बोराका खाद्य सामग्री एक ठाउँबाट अर्को ठाउँमा नाम्लोमा बोकेर पु¥याउने काम गर्दै आएका ढाथोकीले त्यही कमाइबाट पाँच जनाको परिवारको पालनपोषण गर्दै आएका छन् ।

भूकम्पले घरबारविहीन बनायो, यो कमाइले दुई छाक टार्न कठिन भइरहेको छ, हामी भारी बोक्ने भरियाको पीडा कसले सुन्ने, उनले भने – “उठेर बोल्दा हावाले उडाएर लाग्छ, बसेर बोल्दा हामी गरिबको बोली कसैले सुन्दैन ।”

खप्नै पर्ने बर्खा हिउँद झरी र असिना आफ्ना जाहान पाल्नै पर्ने बगाउँदै पसिना, साहुको भारी नबोकेसी छैन खान घरमा बुढेसकालमा बाँच्नु प¥यो रसी, नाम्लो भरमा’ भरिया दाइले बिसाउने भारी सुनमायाँ डाँडैको चौतारी

लोक गायक विष्णु खत्रीले यो माथि उल्लिखित गीतमा भनेजस्तै भएको छ, २६ वर्षदेखि बागबजारस्थित टुकुचा तरकारी बजारमा भारी बोक्ने काम गर्दै आएका ६० वर्षीय दोलखाकै कृष्ण अधिकारीको जीवनमा । अधिकारीले बुढेसकालमा नाम्लो बोकेर चार जनाको परिवार पाल्नुपरेको छ । भरियाका लागि सरकारले कम्तीमा न्यूनतम पारिश्रमिक तोक्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नुवाकोटका फुलकाजी तामाङको पनि उमेरले नेटो काटिसक्यो । तर ६८ वर्षीय तामाङले राजधानीमा अझै ठेलागाडा तान्दै छन् । राजधानीमा मालसामान बोक्ने गाडीको चाप बढेसँगै तामाङको त्यही ठेला तान्ने कामसमेत आजकाल धरापमा परेको छ ।

दोलखा, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, रसुवा, रामेछाप र सिन्धुपाल्चोकलगायत राजधानी वरिपरीका जिल्लाबाट राजधानी आएर यसरी भरियाका रूपमा काम गर्ने बुढाथोकी, अधिकारी र तामाङ प्रतिनिधि पात्र मात्र हुन् । मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेको छ । संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ ।

संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकबारे व्यवस्था गरेको छ । तर राजधानीको कालिमाटी, नयाँबसपार्क, बागबजार, असन र कलङ्कीलगायतका क्षेत्रमा नाम्लेका रूपमा काम गर्ने वा ठेलागाडा तान्ने श्रमिकको अवस्था उस्तै छ ।

सडकमा भरियाका रूपमा काम गर्ने ती भरियाहरू अहिलेसम्म सङ्गठित हुन सकेका छैनन् । उनीहरूबारे कुनै तथ्याङ्क छैन । हामी भरियाले गर्ने श्रमको कहिल्यै मूल्य आएन, तामाङले गुनासो गरे – “नेताहरूले जतिसुकै श्रमिकका कुरा गरे पनि हामी भरियाको कहिल्यै दिन आएन, जुन सरकार आए पनि हाम्रो लागि कहिल्यै आएन ।”

श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले मन्त्रालयले सङ्गठित श्रमिकको बारेमा न्यूनतम पारिश्रमिक तोके पनि असङ्गठित श्रमिकको बारेमा भने अहिलेसम्म नतोकिएको बताए । असङ्गठित श्रमिकका लागि नयाँ श्रम ऐनले समेट्ने उनले विश्वास व्यक्त गरे । सांसद विनोद श्रेष्ठ र अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालिग्राम जमरकट्टेलले भरियाको पहिचान गरी अहिले आएको सामाजिक सुरक्षा ऐनमा समेट्न सकिएको खण्डमा उनीहरूप्रति न्याय हुने धारणा राखे । नेपाल ट्रेड युनियन काँग्रेस, काठमाडौँ शाखाका अध्यक्ष गणेश भट्टराईले भरियाहरू सङ्गठित नभएका कारण पनि उनीहरूको अधिकार प्राप्त गर्न कठिन भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप