सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेचिनबाट जोगिएकी युवतीको वकिल बन्ने चाहना

बिहीबार, २३ असार २०७३, १६ : १३
बिहीबार, २३ असार २०७३

काठमाडौं, असार २३–म्याग्दीकी इशा बोहोरा (परिबर्तित नाम) १४ वर्षकी भइन् । बोहोरा कक्षा ९ मा अध्ययनरत छिन् । उनलाई केआई नेपालले ललितपुरको हात्तीवनमा रहेको एन्जल हाउस पुनःस्थापना गृहमा आवासीय सुविधासहित पढ्ने व्यवस्था मिलाइदिएको छ ।

१४ वर्षको उमेर भनेको सपना, उमंग र कल्पनाले भरिएको हुन्छ । जीवनका आगत कस्ता होलान् भनेर मीठा–मीठा कल्पनाले रोमाञ्चित बन्ने उमेर हो । त्यस्तो उमेरमा पनि उनी गम्भीर कुरा गर्छिन् । उनी आफ्नो उमेरभन्दा बढी गम्भीर छिन् । बालसुलभ जिज्ञासाले भरिएको उनको अनुहारमा चञ्चल होइन गम्भीरता देखिन्छ ।

गाउँमा रहँदा उनी ८ कक्षामा पढ्थिन् । नाताले हजुरबुवा पर्नेले उनलाई भारत गएर सुखले बाँच्न सकिन्छ भनेर फकाउन थाले । गाउँलेभन्दा त सहरिया जिन्दगी बेस भनेर हजुरबुवासँग भारत हान्निइन् । उनले सुरुसुरुमा त हजुरबुवाका कुरा एक कानले सुनेर अर्को कानले उडाइदिइन् । भनिन्छ– हजारपटक भनेपछि झुटो पनि सत्यजस्तो लाग्छ । इशालाई पनि हजुरबुवाले भनेका कुरा सही नै हुन् भन्ने लाग्यो । हजुरबुवाले नै उनलाई नयाँ जीवन दिन्छन् जस्तो लाग्यो । अन्ततः उनी हजुरबुवासँगै भारत जाने निधो गरिन् ।

आमाबुवाको मनस्थिति बुझ्ने फुर्सद थिएन । उनीहरू आफ्नै गृहस्थीमा अल्झिएका थिए । ‘ममीले मलाई नै गाली गर्नुहुन्छ कि भनेर मैले हजुरबुवासँगका कुरा ममी र बाबालाई सुनाउन सकिनन् । हजुरबुवाले एक दिन तिमी आमाबुवालाई छाडेर पराईघर जानुपर्छ । जानैपर्ने हो भने अहिल्यै मसँग इन्डिया किन नजाने ? म तिमीलाई राम्रो जीवन दिन्छु भनेर फकाउने र धम्काउने गरिरहेको पनि इशाले सुनाइन् । अन्ततः एक दिन स्कुल ड्रेसमै हजुरबुवासँग भारत जान बाटो लागिन् । पैदलै हिँडेर कुस्मा हुँदै बाग्लुङ बजार पुगेका उनीहरू त्यहाँबाट रात्रिबस चढेर सुनौलीतर्फ लागे ।

बाटोभरि आमाबुवा र दाइलाइ सम्झेर रुँदै हिँडेकी उनलाई उनै हजुरबुवाले सान्त्वना दिए । ‘आमालाई छाडेर यसरी हिँडुला भन्ने सोचेकी थिइनँ तर लहैलहैमा लागेर यत्तिकै हिँडिदिएँ,’ इशाले गहभरि आँसु पार्दै सुनाइन् ।

हजुरबुवाको उमेर २६ वर्षमात्रै थियो । उनकी दिदी पनि इन्डियामै बस्दी रहिछन् । इशा उनैसँग सुनौली सिमाना क्रस गर्न लागेकी थिइन् । ती दिदीभाइले त्यहाँ कसैले सोध्यो भने मामासँग ममीलाई भेट्न जान लागेको भन्नू भनेर सम्झाएका थिए । तर, कसो–कसो उनले कुरा बनाउन नजान्दा पक्राउ परिहालिन् । हजुरबुवाचाहिँ चेलीबेटी बेचविखन मुद्दामा जेल परेका छन् ।

मैले हजुरबुवालाई पक्राउ गर्न सघाउ पुर्याँदा धेरै दिदीबहिनीको इज्जत जोगाएँ,’ उनले भनिन्, ‘जीवन बर्बाद हुनबाट जोगाएँ ।’ इशा फर्केर घर जान चाहन्थिन् । आफन्त लिन नआएको पनि होइन ।

उनलाइ केआई नेपालले बुटवलमा रहेको पुनःस्थापना केन्द्रमा राखेर पढ्ने व्यवस्था मिलाइदियो । उनले त्यहीँ बसेर कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइन् । स्कुलभरिका चौथो नम्बरमा पास गरिन् । नतिजाले उनलाई पढेर छुट्टै पहिचान बनाउँछु भन्ने आत्मविश्वास बढाएको छ ।

उनलाई विगत सपनाजस्तो लाग्छ । अब के गर्ने मन छ ? भन्छिन्, ‘अतीतलाई बिर्सिदिएकी छु । पढेर वकिल बन्न चाहन्छु । मजस्तै बेचिनबाट जोगिएका गरिब परिवारका छोरीका लागि निःशुल्क सेवा दिन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप