सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वविजेता जर्मनीलाई स्तब्ध बनाउँदै आयोजक फ्रान्स फाइनलमा

शुक्रबार, २४ असार २०७३, ०३ : २६
शुक्रबार, २४ असार २०७३

पेरिस – एन्टोनी ग्रिजमानको दुई गोलको मद्दतले जमर्नीलाई पराजित गर्दै आयोजक फ्रान्स युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती विश्वविजेता जमर्नी २–० ले पराजित बन्यो ।

प्रतियोगितामा गोल गर्ने फर्ममा रहेका ग्रिजमानले पहिलो हाफमो इन्जुरी समयमा पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए । कप्तान बास्टिन स्वाइन्सटाइगरले डि एरियामा ह्याण्डबल गरेपछि पाएको पेनाल्टीलाई ग्रिजमानले जाली चुमाए ।

खेलमा शुरुदेखि नै जमर्नीले पकड बनाएपनि उसको एकपछि अर्को प्रहार विफल भएको थियो । खेलअवधि भर ६० प्रतिशतभन्दा बढी बल आफ्नो नियन्त्रणमा राखे पनि जमर्नी गोल गर्नबाट चुक्यो ।

यसको फाइदा उठाउँदै खेल सकिन १८ मिनेट बाँकी छँदा ग्रिजमानले जमर्नीका गोलकिपर म्यानुअल न्युअरको गल्तीको फाइदा उठाउँदै फ्रान्सको अग्रता दोब्बर बनाए । यतिबेला खेल जमर्नीको हातबाट गुमिसकेको थियो ।

एथ्लेटिको म्याड्रिडका स्टार स्ट्राइकरको जारी प्रतियोगितामा यो छैटौं गोल हो । यससँगै २५ वर्षीय ग्रिजमान गोल्डन बुटको प्रमुख दाबेदार बनेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोको ३ गोल रहेको छ । युरोमा एउटै प्रतियोगितामा उनीभन्दा मिचेल प्लाटिनी (९ गोल) ले मात्र बढी गोल गरेका छन् ।

सन् १९५८ पछि प्रतिस्पर्धात्मक प्रतियोगितामा फ्रान्सले जमर्नीलाई पराजित गरेको यो पहिलो अवसर हो । पराजयसँगै जमर्नीले पछिल्ला ६ वटा सेमिफाइनल मध्ये ४ वटा गुमाउन पुगेको छ । जमर्नीका लागि मारियो गोमेज र सामी खडिरा घाइते हुनु र म्याट ह्युमललाई प्रतिबन्धका कारण गुमाउनु पनि हारको प्रमुख कारण बन्यो ।

सन् १९८४ को इतिहास दोहोराउने मौका

फ्रान्सले फाइनलमा अब आइतबार स्टाडे डे फ्रान्समा पोर्चुगलको सामना गर्नेछ । क्रिस्टियानो रोनाल्डोको प्रेरणामा वेल्सलाई पराजित गर्दै पोर्चुगलले यसअघि फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

दुई पटकको युरोपियन च्याम्पियन फ्रान्सले आइतबार सन् १९८४ को इतिहास दोहोराउने प्रयासमा हुनेछ । त्यतिबेला मिसेल प्लाटिनीको नेतृत्वमा फ्रान्सले घरेलु मैदानमै अयोजित युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । यसपटक जिनेदिन जिदानको उत्तराधिकारीको रुपमा चर्चा गरिएका ग्रिजमानको प्रेरणामा फ्रान्सले इतिहास दोहोराउने प्रयास गर्नेछ । फ्रान्सले जिदानको प्रेरणामा सन् २००० को युरो कपको उपाधि जितेको थियो ।

उता, पोर्चुगलले भने सन् २००४ को फाइनलमा ग्रिससँग बेहोरेको उप्रत्यासित हारको इतिहास मेट्न चाहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप