सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र सेनानी रुम्दालीको उपचारमा सहयोग गर्न समिति

शुक्रबार, २४ असार २०७३, ०९ : २८
शुक्रबार, २४ असार २०७३

खोटाङ - दम र फोक्सोको समस्याले थलिएका खोटाङको ज्यामिरे–९ का ८५ वर्षीय प्रजातन्त्र सेनानी बलबहादुर रुम्दालीको उपचारमा सहयोग जुटाउन समिति गठन गरिएको छ ।

अहिले सुनसरीको प्रकाशपुर–८ मा छोरी सुवासी र ज्वाइँ भवानीशङ्कर अधिकारीको आश्रयमा बसिरहेका रुम्दालीको उपचारमा सहयोग जुटाउन स्थानीय शान्ति समिति खोटाङका पूर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा समिति गठन गरिएको हो ।

आर्थिक अभावमा रोगको उपचार गराउन नसकेर दुई वर्षदेखि थलिएका रुम्दालीको उपचारका लागि सहयोग रकम जुटाउन चार सदस्यीय समिति गठन गरिएको शान्ति समितिका संयोजक श्यामराज राईले बताए । सबै दलको प्रतिनिधित्व रहने गरी बनाइएको चार सदस्यीय समितिले खाता खोलेर व्यक्ति तथा कार्यालयबाट स्वेच्छिक रकम उठाउन सुरु गरेको जनाइएको छ ।

फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङ लगायतले पूर्वसेनानी रुम्दालीको जीवन बचाउ र सम्मानमा सहयोग जुटाउने वातावरण बनाउन शान्ति समितिसमक्ष प्रस्ताव गरेको थियोे । चाम्लिङ लगायतको टोलीले निष्ठावान् योद्धा रुम्दालीको स्वास्थ्योपचारमा सबै लाग्नुपर्ने बहस चलाएसँगै काँग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाइमा काठमाडौँमा रु ९६ हजार ६०० सङ्कलन गरिएको छ ।

रुम्दालीको सहयोगमा काँग्रेसले यसअघि निवर्तमान सचिव वीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरे पनि निष्क्रिय भएको थियो । दम र फोक्सोमा भएको समस्याका कारण रुम्दाली ओछ्यानमा थलिएका हुन् । समस्या आइरहने भएकाले रुम्दालीलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता रहेको बताइएको छ । उनको उपचारमै मासिक रु दश हजार सकिने गरेको पारिवारिक स्रोतले जनाएको छ ।

बलबहादुरको फोक्सो खराब हुन लागेकाले दैनिक औषधिका भरमा बचाइएको ज्वाइँ भवानीशङ्करले बताए । २००७ सालमा प्रजातन्त्र प्राप्तिका लागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर विभिन्न लडाइँमा मोर्चा सम्हालेका रुम्दालीले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ सालको प्रजातन्त्र स्थापनामा समेत जीवन समर्पण गरेका थिए ।

विसं २०४९ सालतिर काँग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा खोटाङको क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बने पनि पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप