सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के कारणले मरे कमलपोखरीका माछा ?

मङ्गलबार, ०९ माघ २०७४, ११ : ०९
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ । एउटा हातले साइकल र अर्काे हातले नाक समाउँदै कमलपोखरी छेउमा आफ्नो ३ वर्षको नातिलाई साइकल सिकाउँदै थिए सिंहबहादुर तामाङ । नागपोखरीका माछा मरेका कारण नाक समाएका थिए । तामाङ कमलपोखरी बस्न थालेको २९ वर्ष भयो तर यस्तो विधि माछा मरेको उनले देखेको यो पहिलो पटक हो । उनलाई थाहा भएअनुसार माछा धेरै सङ्ख्यामा मर्न थालेको ६ दिन भयो । उनले त्यसभन्दा अघि पनि फाट्ट–फुट्ट माछा मरेको देखेका थिए । लगातार माछा मर्न थालेपछि उनले कमलपोखरी रेखदेखको जिम्मा लिएको कमलपोखरी स्र्पोट क्लबलाई यो बारेमा जानकारी गराए तर सुनुवाइ नै भएन । 

वनस्थलीका विवेक पराजुली बैङ्कको कामले कमलपोखरी पुगेका थिए । उनी पनि माछा मरेको देख्दा छक्क परे । उनी भन्छन्– ‘यति धेरै सङ्ख्यामा माछा मरिरहेको छ । माछापोखरीको जिम्मा लिएको निकायले चासो नदिँदा यति धेरै माछा मरिरहेका छन् ।’ 

त्यति मात्र होइन, कमलपोखरीका माछा मरेर निकै दुर्गन्धसमेत फैलिन थालेको छ । पोखरीको भित्तादेखि हिँड्ने पेटीसम्म मरेका माछा फालिएको देखिन्छ । कमलपोखरी पोखरी भएकै कारण चर्चामा छ । तर पोखरीमा रहेका अधिकांश माछा मरिसकेका छन् । कमलपोखरीको माछा हेर्नकै लागि दैनिक धेरैको सङ्ख्यामा नागरिक आउने गरेका छन् । माछा देखाउनकै लागि अभिभावकले बालबालिकालाई कमलपोखरीमा ल्याउने गर्छन् । तर अहिले जिउँदो माछा देख्न निकै कठिन भएको छ । मरेको माछाबाट फैलिएको दुर्गन्ध मात्रै छ त्यहाँ । मरेका माछा कुकुर र कागले जताततै पुर्याएका छन् । 

के भन्छ महानगर ?  
हामीले यो विषयमा काठमाडाँै महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यसँग बुझेका थियौँ । उनले वि.सं. २०७२ वैशाख १२ मा आएको भूकम्पले रानीपोखरीमा रहेको माछा पनि त्यहाँ सारिएको थियो । सूचना अधिकारी आचार्यले पनि यो विषयमा खुलेर जानकारी दिन सकेनन् । अधिकारीले माछाको सङ्ख्या धेरै र पानी कम भएर माछा मरेको आशङ्का व्यक्त गरे ।  आचार्यले यो विषय वडालाई थाहा हुने स्पष्ट पारे ।

यस्तो छ वडा कार्यालयको प्रतिक्रिया  
कमलपोखरी काठमाडाँै महानगरपालिका वडा नम्बर १ मा पर्छ । माछा मर्नुको कारणबारे हामीले वडा अध्यक्ष भरतलाल श्रेष्ठसँग प्रतिक्रिया लिएका थियौँ । उनले समेत यो विषयमा अनविज्ञता दर्साए । अध्यक्ष श्रेष्ठले पनि पोखरीमा पानी कम  भएर वा कसैले विष हालिदिएका कारण माछा मरेको हुनसक्ने अड्कल काटे । महानगरपालिकाको वातावरण विभागले मरेका माछाका विषयमा विषय उठान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष श्रेष्ठले कमलपोखरीमा रहेको माछा रेखदेखका लागि कमलपोखरी स्पोर्ट क्लबलाई जिम्मेवारी दिएको र क्लबले बेवास्ता यति धेरै सङ्ख्यामा माछा मरेको टिप्पणी गरे । उनले यसअघि रानीपोखरीमा पनि माछा मर्ने गरेको तर बेवास्ता गरिएको बताए । अध्यक्ष श्रेष्ठका अनुसार रानीपोखरीमा कम्तीमा ५ टन जुँगे जातका माछा रहेका छन् । उनले यदि पानीकै कमीका कारण माछा मरेको हो भने तत्काल पोखरीमा ट्याङ्करबाट पानी खसालिने बताएका छन् ।  

माछा मरेर दुर्गन्ध फैलिएको विषयमा महानगरपालिका २ दिनअघि मात्र थाहा पाएको थियो भने वडा कार्यालयले तीन दिनअघि मात्र थाहा पाएको थियो । त्यसलगत्तै ती कार्यालयका अधिकारीहरुसँग बुझ्दा एकले अर्कालाई आरोप–प्रत्यारोप लगाइरहेको पाइएको छ । यो सवालमा कसले आधिकारिक जिम्मेवारी लिएर त्यो समस्याको समधान गर्लान् ? स्थानीयवासी प्रश्न गर्न थालेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप