सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ब्याड ब्वाई’बाट फ्रान्सको हिरो ‘ग्रिजमान’

आइतबार, २६ असार २०७३, १३ : १३
आइतबार, २६ असार २०७३

पेरिस —

 रोनाल्डो भर्सेस ग्रिजमान

पाँच हप्ताअघि मिलानको फाइनलमा पनि उनीहरु प्रतिद्वन्द्वी थिए । त्यहाँ सानसिरो मैदानमा रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि उचाल्दै क्रिस्टियानो रोनाल्डोले खुसियाली मनाए ।

सो खेलमा एन्टोनी ग्रिजमानले खेलको निर्धारित समयमा पेनाल्टी गुमाएका थिए, जुन एथ्लेटिको म्याड्रिडका लागि निकै ठूलो मिस साबित भयो । आज उनले दोस्रो मौका पाउँदैछन् । दुई क्लबको प्रतिस्पर्धा आज दुई देशको प्रतिस्पर्धामा बदलिएको छ । जो विजेता भएपनि आज दुई खेलाडीबीचको भिडन्तमा नयाँ अध्याय थपिनेछ ।

आज या त रोनाल्डोले सन् २००४ मा ग्रिसको हातबाट भोगेको नमिठो पराजयको बदला लिँदै पोर्चुगललाई पहिलो मुख्य उपाधि दिलाउनेछन्, जसबाट लुइस फिगोदेखि युसेबियोसम्म चुकेका थिए । वा, ग्रिजमानले गत नोभेम्बरमा बगाएको आँशुपछि फ्रान्सको मुहारमा मुस्कान छर्नेछन् ।

च्याम्पियन्स लिगको फाइनल भए पनि पेनाल्टी मिसजस्तो फुटबलको सानो गल्ती र आतंकवादी हमलामा गुमाएको ज्यानहरुको तुलना हुनसक्दैन । यो कुरा ग्रिजमानलाई राम्रोसँग थाहा छ । ६ महिनाअघि, पेनाल्टी गुमाउदाभन्दा पहिले, फ्रान्सले स्टाडे फ्रान्समा जमर्नीको समाना गरिरहेको थियो । ठीक त्यही बेला सहरमा आतंकवादी हमला भएको थियो । तीनजना आत्मघाती आक्रमणकारी त त्यही स्टेडियममा नै छिर्ने प्रयास गरेका थिए ।

उनको बहिनी माउद पनि उक्त घटनामा बालबाल बचेकी थिइन् । ८९ जनाको हत्या भएको बाटाक्लान थिएटरमा उनी र उनको प्रेमीसँग थिए । तर, भाग्यले उनीहरु भाग्न सफल भए । यस घटनाको ६ महिनापछि ग्रिजमान उक्त पीडा बिर्सदै फ्रान्सलाई केही खुसीयालीको क्षण दिन चाहन्छन् । यस प्रतियोगिताको उत्कृष्ट खेलाडी त उनी फाइनलअघि नै बनिसकेका छन् । अब उनले आफूलाई रोनाल्डोभन्दा उत्कृष्ट साबित गर्दै फ्रान्सलाई १६ पछि पहिलो उपाधि दिलाउन मात्र बाँकी छ ।

उनी आफ्नो सफलताको श्रेय फ्रान्सको प्रशिक्षण टोलीलाई दिन्छन् । फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याम्पस र उनको टिमले ग्रिजमानलाई यो स्थितिमा ल्याउन ठूलो भूमिका खेलेका छन् । फ्रान्समा भएको हमलापछि उनी स्तब्ध थिए । त्यसबाट माथि उक्लन प्रशिक्षण टोलीले निकै मिहिनेत गर्नुपरेको थियो । जुन कुरा ग्रिजमान पनि स्वीकार्छन् ।

रियलसँग फाइनलमा पराजित भएपछि फ्रान्सको शुरुवाती ११ मा आउन पनि उनले संघर्ष गर्नुपर्यो । तर, एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्नो छाप छाड्न सफल भएका छन् । उनी अल्बिानियाको खेलमा समेत बेन्चमा थिए । तर, मैदानमा छिरेर त्यस खेलमा गोल गरेपछि उनले पछि फर्केर हेर्नुपरेको छैन ।

आज उनी राष्ट्रिय हिरो बनेका छन् । उनको सर्ट पाउल पोग्बा भन्दा बढी बिकी रहेको छ । जबकी पाउल पोग्बा विश्वकै सर्वाधिक महंगो खेलाडी बन्ने ताकमा छन् ।

ब्याड ब्वाईबाट गम्भिर खेलाडी

कुनै बेला ग्रिजमान बिग्रेको खेलाडीका रुपमा चिनिन्थे । अन्डर २१ मा खेल्दा टोलीको नियम तोडेबापत उनले फ्रान्सबाट खेल्न १ वर्षको प्रतिबन्ध समेत खेपेका थिए । त्यतिबेला नर्वेविरुद्ध खेलअघि उनीसँगै फ्रान्सका १४ युवा खेलाडी पार्टी गर्न पुगेका थिए । जबकी एक रातअघि उनीहरु आराम गरिरहेको हुनुपर्ने थियो । त्यो खेल फ्रान्सले ५–३ ले गुमाएको थियो ।

क्लबको खेलमा रियल सोसिडाडमा १० वर्ष बिताएपछि सन् २०१४ मा एथ्लेटिको म्याड्रिडमा आए । त्यसपछि उनको खेल बदलियो । उनी आफ्नो करियरबारे गम्भिर बन्न थाले । डिएगो सिमिओनीको मार्गदर्शन पच्छाएर उनले फ्रान्सको राष्ट्रिय टोलीमा स्थानमात्र बनाएनन्, एउटा पूर्ण खेलाडी बने र आज फिफा वर्ष खेलाडीको दाबेदारको रुपमा आफूलाई उभ्याइरहेका छन् ।

पोर्चुगललाई रोनाल्डोको उपहार

उता, रोनाल्डोले भने व्यक्तिगत रुपमा प्रायः सबै उपाधि जितेका छन् । यति धेरै उपाधि जित्दा पनि पोर्चुगलका लागि भने उनले अझै केही दिन सकेका छैनन् । यही कुरा उनको सफल खेल करियरमा सँधै प्रश्न बनी उभिरहेको छ । आजको फाइनलमा उनी यो प्रश्नको उत्तर दिन खोज्नेछन् ।

रोनाल्डोको प्रतिभालाई सबैभन्दा पहिलो लियोनेल पोन्टेसले चिनेका थिए । उनले नै स्र्पोटिङ लिस्बनमा उनको प्रतिभालाई निर्खो काम गरे । ‘उसको रवैया आज पनि उस्तै छ । ऊ मलाई पिङपङमा हराउँथ्यो र किन म हारे भनेर सिकाउँथ्यो । ऊ साधारण बालक थिएन,’ उनी सम्झन्छन् । आज रोनाल्डोकै प्रेरणामा पोर्चुगलले मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने उनी दाबी गर्छन् ।

रोनाल्डो र ग्रिजमानको समानता

रोनाल्डो ग्रिजमानभन्दा ६ वर्षले सिनियर छन् । तर, दुवैको केही समानता छन् । दुवै विंगरबाट स्ट्राइकरको भूमिकामा आइपुगेका छन् । थिएरी हेनरीले भनेका छन्, ‘ग्रिजमान हाम्रो रोनाल्डो हुन् ।’ जसमा एलइक्युप नामक पत्रिकाले थपेको छ, हेनरी पछि फ्रान्सले पाएको उत्कृष्ट स्ट्राइकर हुन् ग्रिजमान ।’

फाइनलमा दुबैमाथि उत्तिकै दबाब हुनेछ । को कसमाथि भारी हुने छन् भन्ने ९० मिनेटपछि थाहा होला । तर, जो जिते पनि त्यो पल निकै भावुक हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप