सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमबारदेखि पोखराबाट पनि नेपाल– भारत मैत्री बस सेवा

आइतबार, २६ असार २०७३, १७ : ४०
आइतबार, २६ असार २०७३

पोखरा - नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने भएको छ ।

मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि बस सञ्चालन गर्न लागिएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

गत जेठ ३१ गते बस सञ्चालन गर्नेबारे सम्झौता भएको थियो । पोखराको पर्यटन बसपार्कबाट बस दैनिक बिहान ९ बजे छुट्नेछ । बस पोखरा, स्याङ्जा, वालिङ, बुटवल, सुनौली सीमा हुँदै गोरखपुर, लखनऊ, दिल्ली पुग्नेछ । दिल्लीबाट समेत दैनिक बिहान ९ बजे बस छुट्ने अधिकारीले बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सुरु हुने उक्त सेवामा नेपाल र भारतका तर्फबाट चार–चार वटा बस सञ्चालन हुनेछन् । बसको बस भाडा रु तीन हजार ५२० तय गरिएको छ ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो । सोही सम्झौताअनुसार काठमाडौँ–दिल्ली र काठमाडौँ–बनारसका लागि बस सञ्चालन भइरहेको छ ।

मोर्डन इराले २०६४ सालदेखि नेपालका विभिन्न स्थानमा बस सेवा सञ्चालन गरिरहेको छ । सोमबार सुरु हुने नेपाल भारतमैत्री बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रञ्जित रेले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप