सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेले भन्यो–माओवादीले समर्थन फिर्ता गर्नु दुर्भाग्यपूर्ण

मङ्गलबार, २८ असार २०७३, २२ : ५९
मङ्गलबार, २८ असार २०७३
काठमाडौँ – नेकपा एमालेले नेकपा माओवादी केन्द्रद्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने भनी मंगलबार गरेको निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको पार्टीको स्थायी कमिटीको बैठकले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको निष्कर्ष निकालेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले हाल उत्पन्न राजनीतिक समस्याको संविधानसम्मत समाधानको दिशामा अघि बढ्ने पार्टीले निर्णय गरेको जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि पुनः बस्ने र आवश्यक निर्णय गर्ने समेत उनको भनाई छ । वर्तमान सरकार बनेयता सुदृढ बनेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीन भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुग्नसक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अघि बढाइएका अग्रगामी, जनपक्षीय कार्यक्रमको पक्षमा दृढतापूर्वक अघि बढ्ने एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप