सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

बुधबार, २९ असार २०७३, १० : ५३
बुधबार, २९ असार २०७३

खोटाङ - विद्युत् चुहावट भएर सल्किएको आगोले खोटाङमा दुई घर जलेर नष्ट भएको छ ।

आज बिहान करिब ८ बजेतिर सुरु भएको आगोले दिक्तेल नगरपालिका–२ थर्पुटोलका लक्ष्मी पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

लक्ष्मीका छोरा विनोद, लीला र ढुण्डीराज पाण्डे बस्दै आएको घरबाट सुरु भएको आगोबाट जोगाउने क्रममा सँगै जोडिएका जीवन बस्नेत र टीकाराम बास्तोलाको घरको छानो, बरन्डा, झ्यालढोका भत्काइएको छ । घर जलेर भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार आगलागीमा रु ५० लाख १९ हजार बराबरको क्षति भएको जानकारी आएको छ । आगोले विनोदको छ तोला सुन, महत्वपूर्ण कागजात, भाँडावर्तन, अन्नपात जलेको छ । यस्तै, लीलाको पाँच तोला सुन, नगद रु एक लाख, महत्वपूर्ण कागजात, अन्नपात, भाँडावर्तन जलेको प्रहरीले जनाएको छ ।

ढुण्डीराजको एक तोला सुन, नगद रु एक लाख ५० हजार, भाडाकुँडा, अन्नपात नष्ट भएको छ । आगोमा घर गुमाएका ढकप्रसादको रु दुई लाख नगद, भाँडावर्तन, अन्नपातसमेत जलेको छ । फैलिँदो आगोबाट जोगाउने क्रममा सरसामान सार्ने क्रममा जीवनको तीन तोला सुन, नगद रु १२ हजार र टीकारामको एक तोला सुन रु २० हजार हराएको जनाइएको छ ।

डेरावालको क्षतिको तथ्याङ्क आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बजारवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले झन्डै डेढ घन्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । गत पुस २ गते विद्युत् चुहावट हुँदा लागेको आगोले दिक्तेल नपा–२ का हिरालाल पुरी, केशव दाहाल, दानबहादुर मगर, रविध्वज राई र हर्कबहादुर राईको घर नष्ट हुँदा रु पाँच करोड बराबरको क्षति भएको थियो ।

नगरपालिका कार्यालयबाट पाँच मिनेटको पैदल दूरीमा रहेको घटनास्थलतर्फ बारुणयन्त्र लैजाने क्रममा अल्छेढुङ्गा नपुग्दै सडकको हिलोमा भासिएपछि पु¥याउन नसकिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप