आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी बाहिरिएपछि प्रधानमन्त्रीसहित मन्त्रीलाई थप जिम्मेवारी (कसले पाए कुन मन्त्रालय)

बुधबार, २९ असार २०७३, २२ : ०१
बुधबार, २९ असार २०७३

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रले छाडेका मन्त्रालयमा मन्त्रीलाई थप नयाँ जिम्मेवारी प्रदान गरेका छन् ।

माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका मन्त्रीलाई थप जिम्मेवारी दिएको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिए ।

प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिएको र नयाँ जिम्मेवारी दिइएको पत्र आजै राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नयाँ जिम्मेवारीअनुसार प्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहनुभएका विजयकुमार गच्छदारले वन तथा भू–संरक्षण, रक्षामन्त्री भीमबहादुर रावलले गृह, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ऊर्जा, श्रम तथा रोजगारमन्त्रीले आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई शिक्षा, भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार शुब्बालाई सिँचाइ र पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि माओवादी केन्द्रकातर्फबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित टोपबहादुर रायमाझीको नेतृत्वमा रेखा शर्मा, सामान्य प्रशासन, अग्निप्रसाद सापकोटा, वन तथा भू –संरक्षण, शक्तिबहादुर बस्नेत गृह, गणेशमान पुन आपूर्ति, गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिँचाइ र हरिबोल गजुरेल कृषिमन्त्री थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप