आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी नेताको नजरमा देशलाई प्रचण्डको नेतृत्व चाहिने यी हुन् ६ कारण

आइतबार, ०२ साउन २०७३, १४ : २४
आइतबार, ०२ साउन २०७३

१. परिवर्तनलाई निरन्तरता दिन

संसारमा हरवस्तु परिवर्तनशील छ । परिवर्तनको दिशा सदैव अग्रगामी हुन्छ । समाज पनि स्वतः परिवर्तनशील छ । समाज परिवर्तनका दुई कारक तत्व छन् । आन्तरिक र बाह्य । बाहिर प्रकृतिसँगको संघर्ष र भित्र समाजसँगको संघर्ष समाजभित्रको संघर्षबीचबाट मानव जाति नरवानरदेखि आजको अवस्थासम्म आइपुगेको हो ।

नेपाली समाजको पछिल्लो परिवर्तनको प्रक्रियाको संघर्षको सर्वोच्च रूप जनयुद्धको माध्यमबाट गुर्ज्रनुपर्यो । ‘मुठ्ठीभर मान्छेले इतिहास रचना गर्ने’ पद्धतिलाई बदलेर जनता आफैँले इतिहासको रचना गर्ने नयाँ पद्धति थालनी जनयुद्धले गरेको हो । यसको संस्थागत नेतृत्व माओवादीले गर्यो र माओवादी आन्दोलनको नेतृत्व प्रचण्डले । परिवर्तनलाई निरन्तर अगाडि बढाउन आज मुलुकलाई प्रचण्डको नेतृत्व आवश्यक छ । रगतले इतिहास लेख्ने जोखिमपूर्ण यात्राको प्रमुख पहलकर्ता हुनुको नाताले रगतको मूल्य पनि प्रचण्डलाई बढी थाहा छ । बलिदानको मूल्यको जगेर्ना गर्न प्रचण्डको नेतृत्व आवश्यक छ ।

२. राष्ट्रिय स्वाधीनताको रक्षा गर्न

विश्व अहिले भूमण्डलीकृत साम्राज्यवादको चपेटामा छ । हिजोको जस्तो प्रत्यक्ष उपनिवेशको अवस्था त छैन । तर आर्थिक, राजनीतिक, सांस्कृतिक र सैन्य हस्तक्षेप विभिन्न रूपमा जारी छ । ठूला र साना मुलुक, विकसित र अल्पविकसित मुलुकबीचमा अन्तरविरोध कायम छ । दुई विशाल मुलुकबीचमा अवस्थित भूपरिवेष्ठित मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षा र विकास हाम्रो चुनौतीको विषय हो । यो अवस्थालाई न त युद्ध न आत्मसर्मपणद्वारा हल गर्न सकिन्छ । आन्तरिक रूपमा सबल, एकताबद्ध राष्ट्रनिर्माण गर्ने र बाह्य रूपमा राजनीतिक र कूटनीतिक मोर्चालाई कुशलतापूर्वक परिचालन गरेरमात्रै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिन्छ ।

कुर्सीका निम्ति मरिहत्ते गर्ने निहित स्वार्थभन्दा माथि उठेको राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिबद्ध नेतृत्वले मात्रै नेपालको आजको समस्या हल गर्न सक्छ । अतः मुलुकलाई स्वाधीन र समृद्ध बनाउन प्रचण्डको नेतृत्व आवश्यक छ ।

३. आन्तरिक अन्तरविरोध हल गर्न

मुलुकभित्र थुप्रैखाले अन्तरविरोध छन् । तीमध्ये केही प्रमुख स्थान ओगट्ने अन्तरविरोध छन् । वर्गीय÷जातीय समस्या एक प्रमुख समस्या हो । पृथ्वीनारायण शाहले खडा गरेको एकीकृत राज्य उत्पीडनको जगमा खडा भयो । अबको एकीकृत राज्य अधिकारको जगमा खडा हुनेछ । जनतालाई अधिकार नदिने सामन्ती प्रवृत्ति र अधिकारको बहानामा मुलुकलाई नै विखण्डन गर्ने विस्तारवादी प्रवृत्तिबाट बचाएर अधिकारसहितको तर एकताबद्ध राष्ट्र/राज्य निर्माण आजको अहम् प्रश्न हो । जसको एजेन्डा उसकै नेतृत्वअन्तर्गत मात्रै सही तरिकाले यसको समाधान गर्न सकिन्छ । आजको मधेस, थारू, आदिवासी जनजाति, मुस्लिम, कर्णाली वा पिछडिएको क्षेत्रको समस्या समाधान गर्न प्रचण्डको नेतृत्व आवश्यक छ ।

४. बेरोजगारी दर घटाउन

आप्रवासन समस्या आजको नेपालको विकराल समस्या बनेको छ । देशभित्र बेरोजगारी दर संसारकै माथिल्लो स्तरमा छ । एकातिर न्यून श्रम दक्षता भएका सस्तो श्रमशक्ति र अर्कोतिर उच्च श्रम दक्षता भएको बौद्धिक शक्ति निरन्तर विदेश पलायन भइरहेको छ । हामीलाई देश बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने र तीव्रतामा विकास गर्ने प्रक्रियाको अगुवाइ गर्ने नेतृत्व चाहिएको छ । उद्योग र कृषिको विकास, जनशक्तिको पलायनलाई रोक्ने सही माध्यम हुन सक्छ । त्यही आधारभूत वर्गको मुक्तिका सपनासाथ युद्ध लडेको कमान्डरले देशको अगुवाइ गरेरमात्र आजको समस्या हल हुनेछ । सिंगो मुलुकले त्यसकानिम्ति श्रम, सीप र पुँजीको खर्च गर्नुपर्छ । जसको भविष्य लामो छ, त्यो हो युवा र बालबालिका ।

५. विज्ञान र प्रविधिको विकास गर्न

आजको युग ढुंगे होइन । विज्ञान र प्रविधिको युग हो । मानव जातिले विकास गरेको अभूतपूर्व चमत्कार हो । जुन देश र समाजले विज्ञान र प्रविधिको सही ढंगले सदुपयोग गर्न सक्छ, त्यही देशले मात्र साँचो अर्थमा परिवर्तनलाई तीव्रतामा अगाडि बढाउन सक्छ । विज्ञान र प्रविधिको विकासलाई न त रहस्यका रूपमा लिएर, न त नजरअन्दाज गरेर अगाडि बढ्न सकिन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणले मात्रै विज्ञान र प्रविधिलाई सही ढंगले हेर्न र परिचालन गर्न सकिनेछ । विज्ञान र प्रविधिको तीव्रतामा विकास गर्न र सही ढंगले प्रयोग गर्न मुलुकलाइ प्रचण्डको नेतृत्व जरुरी छ ।

६. माओवादीलाई एकताबद्ध गर्न

माओवादी पार्टी होइन आन्दोलन हो । यो संघर्षकै बीचबाट हुर्केको हो र संघर्षकै बीचबाट एकताबद्ध हुनेछ । अहिले संघर्षको मोर्चा फेरिएको छ तर संघर्ष सकिएको छैन । वर्गीय मुक्ति आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई एकताबद्ध गरेर अगाडि बढ्ने विधिबाहेक माओवादीलाई एकताबद्ध बनाइराख्ने अर्को कुनै सूत्र छैन । माओवादी कमजोर बन्दा जनता र मुलुक कमजोर बन्छ । माओवादी शक्तिशाली बन्दा जनता र मुलुक शक्तिशाली बन्नेछ । देशमा शक्तिशाली माओवादी केन्द्रको जरुरी छ । उच्चतम् जिम्मेवारीबोधसाथ र अत्यन्तै लचकता र तीव्रतापूर्वक माओवादीलाई एकताबद्ध गर्नैपर्छ । माओवादीलाई एकताबद्ध गर्ने मियो पनि प्रचण्ड नै भएकाले आज मुलुकलाई प्रचण्डको नेतृत्व आवश्यक छ । विगतका सकारात्मक र नकारात्मक अनुभवको जगमा आजको मोर्चा सम्हाल्नु जरुरी छ । यो अवसर हो र चुनौती पनि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप