आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकार परिवर्तनमा छिमेकी चलखेल : प्रम भन्छन्, ‘भारत’, भारत देखाउँछ चीन

आइतबार, ०२ साउन २०७३, १३ : ४०
आइतबार, ०२ साउन २०७३

काठमाडौं – गत असार ३० गते राजधानीको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट रुपमा आफ्नो सरकार ढाल्न भारत लागेको बताएका थिए । सरकार परिवर्तनमा विदेशी चलखेल भएको दाबी गर्दै उनले सरकार ढाल्न दक्षिणतिरबाट चलखेल भएको बताए ।

‘के भइरहेको छ भनेर भन्नै पर्दैन । सबै टुलुटुलु आँखाअघि देखिरहेको छ । सरकार परिवर्तनका मिटिङहरु आ–आफ्ना बीच भए ठीकै हुन्छ, स्वचालित भए पनि हुन्छ । तर ब्याट्रीबाट चल्ने खालको छ । यो देशका निम्ति दुःखको कुरा हो,’ सरकार परिवर्तनको खेलप्रति इंगित गर्दै उनले भनेका थिए ।

देशको कार्यकारी प्रमुखले नै आफूमाथि आरोप लगाएपछि भारतले पनि त्यसको प्रतिक्रिया जनाउँदै सरकार परिवर्तनको खेलमा आफू नभए चीन लागेको आरोप लगाएको छ ।

भारतीय सरकारले औपचारिक रुपमा यसको खण्डन नगरेपनि यस विषयमा भारतीय सञ्चारमाध्यम द हिन्दुले समाचार प्रकाशित गरेको छ ।

भारतीय सरकारको उच्च स्रोतको हवाला दिँदै अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि पनि ओली सरकार बचाउन चीन खुलेर लागेको आरोप लगाइएको छ । यसअघि वैशाखमा पनि सरकार परिवर्तनको कुरा चल्दा हिन्दुस्तान टाइम्समा पत्रकार प्रशान्त झाले एक रिपोर्ट प्रकाशित गरेर चिनियाँ चलखेलबारे समाचार प्रकाशित गरेका थिए ।

स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘ओली सरकारलाई अस्थिर बनाउनमा भारतको कुनै हात छैन । उनले काम गर्न सकेनन् र गठबन्धन भत्कियो । सदनमा अल्पमतमा परेर पनि सरकारमा बसिरहन खोज्नु अलोकतान्त्रिक छ । यसमा चीनले हस्तक्षेप गरिरहेको छ । सरकार बचाउनलाई खुलेर लागेको छ ।’

समाचारमा चिनियाँ राष्ट्रपति सि जिनपिङले चाँडै नेपाल भ्रमण गर्ने तयारी गरिरहेको बेला चीनले सरकारको विषयलाई हल गर्न खोजिरहेको जिकिर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप